पथरी / मोरङको पथरी शनिश्चरे–१ मा स्थापित पथरीको पहिलो निजी विद्यालय एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले ४० औं अभिभावक दिवस तथा वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ ।

अभिभावकहरुको बाक्लो उपस्थिति, एक्स्ट्रा स्टेज डेकोरेशन, आफ्ना प्रस्तुति तयारी अवस्थामा रहेका विद्यार्थीहरु, शिक्षकहरुको बाक्लो उपस्थितिले सोमबार एभरेष्ट परिसरमा कसैले गर्मीको परवाह गरेका थिएनन् ।
सो कार्यक्रमको पहिलो चरण सभापति, प्रमुख अतिथि, विशिष्ट अतिथि तथा विद्यालय परिवारको आसन ग्रहणसँगै सुरु भएको सो कार्यक्रम पानसमा बत्ती बालेर नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुभयो । सुरुवातमा विद्यालयका सह–प्राचार्य उमाकान्त न्यौपानेले स्वागत मन्तव्य राख्दै विद्यालयको यथार्थता प्रस्तुत गर्नुभएको थियो ।
नर्सरीदेखि युकेजीसम्मका विद्यार्थीहरूले विभिन्न अंग्रेजी तथा नेपाली राइम्स, नृत्य र साँस्कृतिक प्रस्तुति दिएका थिए । विद्यार्थी सुलभ तिम्सिना, स्वस्तिका नेपाली र प्रमिशा चौहानले विद्यार्थीको तर्फबाट मन्तव्य राखेका थिए । साथै गरिमा मगरको नृत्य, कराँते प्रदर्शन, ¥याम्प शो तथा विद्यालय गीत कार्यक्रमका आकर्षण बनेका थिए ।
विशिष्ट अतिथि वडा नं. १ का वडाध्यक्ष भीमकुमार राईले मन्तव्य राख्दै विद्यालयको शैक्षिक गुणस्तर र अनुशासनको प्रशंसा गरे । प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्बापोले शिक्षामा गुणस्तर अभिवृद्धिका लागि सहकार्य आवश्यक रहेको बताए । उनले विद्यालय–अभिभावक सम्बन्ध सुदृढ हुनुपर्ने धारणा व्यक्त गरे ।
प्राचार्य कमल तिम्सििनाले विद्यालयको वार्षिक प्रगति र आगामी योजनाबारे जानकारी गराएका थिए भने निर्देशक रविन कन्दङ्वाले धन्यवाद ज्ञापन गरेका थिए । सभापति तथा शिक्षक–अभिभावक संघका अध्यक्ष रूपनारायण भट्टराईले कार्यक्रम समापनको घोषणा गरेका थिए ।
यसैगरी दोस्रो चरणमा कक्षा १ देखि ११ सम्मका विद्यार्थीहरूले सामूहिक तथा एकल नृत्य, गीत, नाटक र वाद्यवादन प्रस्तुत गरेका थिए । ‘साकेला’, ‘राउटे डान्स’, ‘माइतीघर’, ‘मयुर डान्स’ लगायत साँस्कृतिक प्रस्तुति र ‘सिंह र खरायो’, ‘छट्टु स्याल’, ‘डम्बरी’ जस्ता नाटकले उपस्थित अभिभावकहरुको मन जितेको थियो ।