आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मोरङ–१ को चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका खड्ग फागो अहिले घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ । उर्लाबारी नगरपालिकाको मेयरका रूपमा काम गरिसक्नुभएका फागो आफू विकासमुखी सोच र काममार्फत मतदातामाझ स्थापित भएको दाबी गर्नुहुन्छ। चुनावी दौडधुपकै बीच उहाँसँग समसामयिक राजनीति, जनताको अपेक्षा र आफ्ना योजनाबारे उहाँसङ्ग गरिएको कुराकानीः

मोरङ–१ का मतदाताले तपाईंलाई नै किन रोज्ने ?
नेपाली कांग्रेस अहिले परिवर्तनको चरणमा छ। जनताले पनि परिवर्तन चाहेका छन्। देशमा सुशासन कायम होस्, भ्रष्टाचार अन्त्य होस् र विकासले गति लियोस् भन्ने चाहना आम नागरिकको छ।
मेरो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाका लागि होइन। जनताको अपेक्षा पूरा गर्ने उद्देश्यले हो। अहिले म घरदैलोमा जाँदा नागरिकले स्पष्ट रूपमा भन्छन्—देशलाई सही दिशा दिने नेतृत्व चाहिएको छ। यही विश्वासका आधारमा मतदाताले मलाई साथ दिनुहुन्छ भन्ने लागेको छ।
तपाईंलाई नयाँ उम्मेदवारका रूपमा पनि हेरिएको छ। मतदाताको मनोविज्ञान कस्तो पाउनुभएको छ ?
अहिले विशेष गरी युवापुस्तामा ठूलो असन्तुष्टि देखिन्छ। ‘नेता सुध्रनुपर्छ’ भन्ने आवाज बलियो छ। सुशासन, रोजगारी र अवसरको खोजी नै अहिलेको मुख्य मुद्दा बनेको छ।
जनताले अब भाषण होइन, परिणाम चाहेका छन्। देश कर र रेमिट्यान्सले मात्रै धानिएको अवस्था छ भन्ने चिन्ता धेरैमा छ। पर्यटन, कृषि र उद्योगमार्फत रोजगारी सिर्जना गर्नुपर्छ भन्ने माग व्यापक रूपमा उठिरहेको छ। मोरङ–१ का मतदाता सचेत छन्। उनीहरू अब पुराना शैलीको राजनीति होइन, काम गर्ने नेतृत्व खोजिरहेका छन्।
घरदैलोमा जाँदा दलहरूप्रति कस्ता गुनासा बढी सुन्नुहुन्छ ?
सबैभन्दा बढी गुनासो आधारभूत सेवाकै छ। स्वास्थ्य सेवा सहज छैन, शिक्षामा गुणस्तरको प्रश्न छ, खानेपानी समस्या छ। किसानले समयमा मल पाइरहेका छैनन्, सिँचाइको व्यवस्था कमजोर छ।
गाउँमा विजुलीको पोल नपुगेको गुनासो छ भने बनेका बाटो पनि गुणस्तरीय छैनन्। साना लाग्ने यी विषय नै जनताको दैनिक जीवनसँग जोडिएका ठूला समस्या हुन्। जनता यिनै कुराले आजित भएका छन्। त्यसैले अब नीति मात्रै होइन, कार्यान्वयनमा ध्यान दिनुपर्ने समय आएको छ। यद्यपि, यी साना लाग्ने समस्या भएपनि जटिल छन । नितिगत कानुन निर्माण सङ्गै जनताका आधारभुत समस्या समाधानमा मेरो पहल कदमी रहने छ ।
यी समस्या विगतमा समाधान भएनन्, अब हुन्छन् भनेर कसरी विश्वास दिलाउनुहुन्छ ?
यो प्रश्न स्वाभाविक हो। जनताले विश्वास गर्न आधार खोज्छन्। हामीले पनि स्वीकार गर्नुपर्छ—हिजो काम गर्ने तरिकामा कमजोरी थियो। तर अहिले कांग्रेसले नयाँ पुस्तालाई अघि ल्याएको छ। काम गर्ने शैली बदल्नुपर्ने आवश्यकता हामीले महसुस गरेका छौँ। अब योजना कागजमै सीमित राख्ने होइन, कार्यान्वयन गर्ने राजनीति आवश्यक छ।
कहाँ मल कारखाना खोल्ने, कहाँ उद्योग स्थापना गर्ने, कोल्ड स्टोर कहाँ बनाउने, स्थानीयलाई कसरी रोजगारी दिने—यी सबै विषय स्पष्ट योजनासहित अघि बढाउने हाम्रो लक्ष्य हो।
सुशासनका लागि तपाईंका प्राथमिक योजना के हुन् ?
अहिले समस्या के छ भने हामी कामभन्दा भाषणमा बढी रमाएका छौँ। जनताले सेवा लिन कार्यालय–कार्यालय धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ।
सेवा प्रवाहलाई सरल बनाउने, जिम्मेवारी स्पष्ट गर्ने र कामको नतिजा देखिने प्रणाली बनाउनु आवश्यक छ। मास्टर प्लान बनाएर योजनालाई चरणबद्ध रूपमा कार्यान्वयन गर्नुपर्छ। नक्सा बनाउने र घोषणा गर्ने राजनीति अब चल्दैन। जनताले प्रत्यक्ष रूपमा परिवर्तन महसुस गर्नुपर्छ—मेरो ध्यान त्यतैतिर रहनेछ।
अन्त्यमा मतदातालाई के भन्न चाहनुहुन्छ ?
म पद, कुर्सी वा सम्मानका लागि राजनीतिमा आएको होइन। सेवा गर्ने उद्देश्यले उम्मेदवार बनेको हुँ। मतदातालाई मेरो आग्रह छ—उम्मेदवारलाई चिनेर, उसको सोच र काम हेरेर निर्णय लिनुस्। गफ र आश्वासनभन्दा काम गर्ने व्यक्तिलाई रोज्नुस्। मलाई सेवा गर्ने अवसर दिनुस्। रुख चिन्हमा मतदान गरेर एकपटक मौका दिनुभयो भने परिणाम देखाएर विश्वास जित्नेछु।