स्वास्थ्य सुधारको संकेत: जिम्मेवारी, पारदर्शिता र परिणाममुखी कार्यसम्पादनमा जोड

धनकुटामा सुरु भएको मनोसामाजिक परामर्शदाताहरूका लागि ६ महिने मोड्युलर तालिम केवल एक औपचारिक कार्यक्रम मात्र होइन, स्वास्थ्य प्रणालीलाई परिणाममुखी र उत्तरदायी बनाउने संकेतका रूपमा देखिएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोशि प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले अब स्वास्थ्य सेवामा ‘काम देखिने’ संस्कृतिको सुरुवात हुनुपर्ने स्पष्ट सन्देश दिएका छन्।

मन्त्री लिम्बूले स्वास्थ्य सेवा जनताको मौलिक अधिकार भएको स्मरण गराउँदै कागजी प्रतिवेदनभन्दा व्यवहारमा सुधार देखिनुपर्नेमा जोड दिए। केही जिल्लाबाट प्राप्त प्रगति विवरण सन्तोषजनक नभएको उल्लेख गर्दै उनले ढिलासुस्ती र लापरवाही अब सह्य नहुने बताए। “समय बहानाको होइन, परिणाम देखाउने हो,” भन्ने उनको भनाइले मन्त्रालयको आगामी कार्यदिशा प्रष्ट पारेको छ।

उनले विशेष गरी नसर्ने रोग, मानसिक स्वास्थ्य तथा मातृ–शिशु स्वास्थ्य कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिए। मानसिक स्वास्थ्य सेवाको पहुँच अझै सीमित रहेको सन्दर्भमा परामर्शदाताहरूको तालिमलाई दीर्घकालीन सुधारको आधारका रूपमा हेरिएको छ। यस तालिमले स्थानीय तहसम्म गुणस्तरीय मनोसामाजिक सेवा विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
आर्थिक अनुशासनतर्फ कडा सन्देश दिँदै मन्त्रीले वार्षिक कार्ययोजनाअनुसार नै बजेट खर्च गर्न, अन्तिम त्रैमासमा हतारमा खर्च गर्ने प्रवृत्ति अन्त्य गर्न र खरिद प्रक्रियामा अनिवार्य ई–बिडिङ प्रणाली अपनाउन निर्देशन दिए। गुणस्तरहीन सामग्री खरिद वा बेरुजु कायम रहेमा सम्बन्धित कार्यालय प्रमुख नै जिम्मेवार हुने स्पष्ट पार्दै उनले भ्रष्टाचार र गैरजिम्मेवारीप्रति ‘शून्य सहनशीलता’ नीति अवलम्बन गरिने बताए।

कोशी प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा भइरहेको दोस्रो चरणको तालिममा प्रदेशका ८ जिल्लाका १६ जना मनोसामाजिक परामर्शदाता सहभागी छन्। मोरङ, सुनसरी, धनकुटा, पाँचथर, संखुवासभा, भोजपुर, झापा र तेह्रथुमका स्थानीय तहमा कार्यरत सहभागीहरूले १० दिनसम्म गहन प्रशिक्षण लिनेछन्।

यो कार्यक्रम केवल तालिममा सीमित नरही स्वास्थ्य सेवामा सुधार, पारदर्शिता र उत्तरदायित्वको नयाँ अध्याय सुरु गर्ने संकेतका रूपमा हेरिएको छ।




Leave a Reply

Your email address will not be published.