नेपाली कांग्रेस मोरङ–१ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोसँग समसामयिक राजनीति, चुनावी रणनीति, विकासका एजेन्डा र भविष्यको दृष्टिबारे पत्रकार तेजन खड्काले गर्नुभएको विस्तृत कुराकानी।

चुनावी तयारी कस्तो चरणमा छ ?
चुनाव सामान्य राजनीतिक गतिविधि मात्रै होइन, यो जनतासँग आत्मीय संवाद गर्ने अवसर पनि हो। अहिले म संगठन सुदृढीकरण, कार्यकर्तासँग छलफल र मतदाताका अपेक्षा बुझ्न केन्द्रित छु। मोरङ–१ का सबै पालिका र वडाका समस्या नजिकबाट बुझ्ने प्रयास गरिरहेको छु।
यसपटक तपाईंको मुख्य चुनावी एजेन्डा के हो ?
समग्र विकास। तर विकास भन्नाले केवल सडक वा भवन मात्र होइन। सुशासन, पारदर्शिता, जवाफदेही राजनीति, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, रोजगारी सिर्जना र आर्थिक गतिविधिको विस्तार सबै समेटिन्छन्। दीर्घकालीन सोच बिना गरिएको विकासले समाजलाई अगाडि लैजान सक्दैन।
पूर्व जनप्रतिनिधिको अनुभवले अहिलेको राजनीतिमा कस्तो भूमिका खेलिरहेको छ ?
अनुभवले मलाई व्यवहारिक बनाएको छ। नीति कागजमा राम्रो देखिन सक्छ, तर कार्यान्वयन कति कठिन हुन्छ भन्ने कुरा स्थानीय तहमा काम गर्दा बुझेको हुँ। जनताको समस्या सुन्ने, सहन गर्ने र समाधान खोज्ने धैर्य अनुभवबाटै आउँदो रहेछ।
कोरोना महामारीको समय तपाईंको राजनीतिक यात्रामा निर्णायक बन्यो भनिन्छ। त्यो समयलाई कसरी सम्झनुहुन्छ ?
त्यो समय मेरो जीवनकै सबैभन्दा कठिन र अर्थपूर्ण समय थियो। लकडाउनका बेला लौरो टेक्दै घर–घर पुग्यौँ। ३३ सयभन्दा बढी घरधुरीलाई खाद्यान्न, औषधि र पोषणयुक्त आहार वितरण गरियो। त्यो कुनै नारा वा प्रचारका लागि होइन, जनप्रतिनिधिको जिम्मेवारी ठानेर गरिएको काम हो।
त्यो समयमा तपाईंविरुद्ध मुद्दा पनि परे। त्यसले तपाईंलाई कति असर गर्यो ?
तीन दर्जनजति मुद्दा लागे। राजनीतिक रूपमा असर त पर्यो, तर म जनताको सेवाबाट विचलित भइनँ। तीन वर्षसम्म निरन्तर जनताकै पक्षमा उभिएर इमानदारीपूर्वक काम गरें। इतिहासले अन्ततः सत्यको मूल्याङ्कन गर्छ भन्ने विश्वास छ।
उर्लाबारी नगरपालिकामा रहँदा तपाईंले गरेका मुख्य कामहरू के–के हुन् ?
नगरपालिकाको संस्थागत संरचना निर्माण, वडागत सन्तुलित विकास, सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, विश्व बैंकका कार्यक्रम कार्यान्वयन, इलाका प्रशासन कार्यालय स्थापना, साथै ५४ वटा ऐन, कार्यविधि र निर्देशिका निर्माण महत्वपूर्ण उपलब्धि हुन्। यी आधारभूत संरचनाले स्थानीय शासनलाई बलियो बनाएको छ।
अब प्रतिनिधिसभामा पुगेपछि प्राथमिकता के हुनेछ ?
कानुन निर्माण। राम्रो कानुन बिना राम्रो शासन सम्भव हुँदैन। विधि–विधान सुदृढीकरण, शिक्षा र स्वास्थ्य प्रणाली सुधार, उद्योग–व्यवसाय प्रवर्द्धन, रोजगारी सिर्जना र भौतिक पूर्वाधार विकासमा केन्द्रित भएर काम गर्छु।
मोरङ–१ का प्रमुख समस्या के देख्नुहुन्छ ?
युवाको रोजगारी, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र व्यवस्थित शहरी विकास। कृषिमा आधुनिकीकरण र बजार पहुँच पनि ठूलो मुद्दा हो। यी सबैलाई एक–आपसमा जोडेर समाधान खोज्नुपर्छ।
पार्टीभित्रको गुटबन्दीले चुनावी अभियानलाई असर गर्दैन ?
गुटबन्दीले कार्यकर्ता कमजोर बनाउँछ। त्यसैले सल्लाह, समन्वय र सहकार्य मेरो प्राथमिकता हो। जित व्यक्तिगत विषय होइन, सामूहिक प्रयासको नतिजा हो भन्नेमा म स्पष्ट छु।
यसपटकको प्रचारशैली कस्तो हुनेछ ?
तडक–भडक होइन, प्रत्यक्ष संवाद। म राजनीतिमा ढाँट्न जान्दिन। कर, जिम्मेवारी र इमानदारीका साथ काम गर्नु नै मेरो शैली हो। जनताले मेरो काम बोलेको देख्नुभएको छ।
नेपाली कांग्रेसको वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
कांग्रेस रूपान्तरणको प्रक्रियामा छ। संगठनात्मक सुधार, नयाँ सोच र आत्मविश्वास देखिएको छ। यसको सकारात्मक प्रभाव चुनावी परिणाममा पर्ने विश्वास छ।
राजनीतिमा लामो समय समर्पित रहनुको मूल प्रेरणा के हो ?
समाज परिवर्तनको सपना। व्यक्तिगत फाइदाभन्दा सार्वजनिक हित ठूलो हुन्छ भन्ने विश्वास। राजनीति मेरो लागि पद होइन, सेवा हो।
अन्त्यमा मोरङ–१ का मतदातालाई के भन्न चाहनुहुन्छ ?
मेरो उद्देश्य स्पष्ट छ—जनताको समस्या समाधान र क्षेत्रको दीर्घकालीन विकास। विगतको काम र भविष्यको योजनाका आधारमा मलाई मूल्याङ्कन गर्नुस्। इमानदार प्रयासलाई मतदाताले विश्वास गर्नुहुनेछ भन्ने आशा राखेको छु।