उर्लाबारी / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस मोरङ निर्वाचन क्षेत्र नं.–१ ले चुनावी अभियानलाई थप तीव्र र प्रभावकारी बनाएको छ । सोही अभियानअन्तर्गत नेपाली कांग्रेस केराबारी गाउँपालिका समितिले केराबारीमा सम्पर्क तथा प्रचार–प्रसार कार्यालय स्थापना गरेको छ ।

यसअघि नै कांग्रेस मोरङ–१ ले संगठन सुदृढीकरण, मतदाता संवाद र जनआधारित प्रचार–प्रसारलाई केन्द्रमा राख्दै उर्लाबारी र लेटाङमा क्षेत्रीय, प्रदेशसभास्तरीय तथा नगरस्तरीय सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै केराबारी गाउँपालिका कांग्रेसका सभापति तथा अभियानका संयोजक प्रकाश बस्नेतले वर्तमान राजनीतिक अवस्था, बदलिँदो सामाजिक संरचना र जनताका अपेक्षालाई गम्भीरतापूर्वक आत्मसात गर्दै नेपाली कांग्रेस समयसापेक्ष नीति, स्पष्ट दृष्टिकोण र जनउत्तरदायी नेतृत्वसहित निर्वाचनको मैदानमा उत्रिएको बताउनुभयो ।
सोही अवसरमा केराबारी गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य रोहित कार्कीले उर्लाबारी नगरपालिकाको मेयरका रूपमा कोरोना महामारीजस्तो विषम परिस्थितिमा समेत ज्यानको जोखिम मोलेर जनताको सेवामा समर्पित नेतृत्वलाई मोरङ–१ ले प्रतिनिधिसभा उम्मेदवारका रूपमा पाएको उल्लेख गर्नुभयो । उहाँले केराबारीवासी एकताबद्ध भएर खड्ग फागोलाई भारी मतका साथ विजयी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा मोरङ क्षेत्र नं.–१ का सभापति शंकर राईले क्षेत्रको समग्र विकास, लोकतन्त्रको संरक्षण, सुशासनको संस्थागत विकास र समावेशी समृद्धिलाई नेपाली कांग्रेसले मूल राजनीतिक एजेन्डा बनाएर निर्वाचनमा सहभागिता जनाएको स्पष्ट पार्दै चुनावी परिणाममार्फत जनताको भरोसा पुनः स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा कोशी प्रदेशसभा सदस्य अर्जुन तुम्रोक, महाधिवेशन प्रतिनिधि देवराज चाम्लिङ, महासमिति सदस्य ललित अधिकारी, मोरङ जिल्ला सदस्य गोपाल याख्खा, पूर्व महासमिति सदस्य प्रकाश थापा, तरुण नेता विक्रम शाही ठकुरी तथा वडा समितिको तर्फबाट चन्द्रसिंहक लिम्बुले प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोलाई रुख चिन्हमा मतदान गरी विजयी गराउने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसरमा नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री तथा मोरङ–१ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोले मोरङ–१ को भूगोल, माटो र जनजीवनसँग सुहाउँदो विकासको स्पष्ट खाका प्रस्तुत गर्दै आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको बताउनुभयो ।
उम्मेदवार फागोले उर्लाबारी, लेटाङ, केराबारी र मिक्लाजुङ क्षेत्रका कृषक, मजदुर, युवा, महिला तथा व्यवसायीका समस्या प्रत्यक्ष रूपमा बुझेर शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरीय सुधार, कृषि आधुनिकीकरणमार्फत उत्पादन वृद्धि, युवाका लागि रोजगारी सिर्जना, दिगो पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादनको बजारीकरण लाई आफ्नो प्रमुख चुनावी एजेन्डाका रूपमा अघि सारेको स्पष्ट पार्नुभयो ।
“नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन र दिगो विकासको स्पष्ट दृष्टिकोणसहित जनताको विश्वास जित्ने दृढ संकल्पका साथ निर्वाचनमा सहभागी भएको छ,” उम्मेदवार फागोले भन्नुभयो । प्रचार कार्यालयको उदघाटन गाउपालिका सभापति बस्नेतको अध्यक्षामा भएको थियो भने कार्यक्रममा स्वागत मनतव्य महिला सघ गाउपालिका अध्यक्ष गिता कार्कीले गर्नभएको थियो ।