कोशी प्रदेश स्वास्थ्य मन्त्री लिम्बूद्वारा लामाटोली–भोटेघुम्ती सडक कालोपत्रे योजनाको शिलान्यास

पथरी / मोरङको पथरी शनिश्चरे नगरपालिका–७ अन्तर्गत लामाटोली–भोटेघुम्ती सडक खण्डमा कालोपत्रे कार्यका लागि विधिवत् शिलान्यास गरिएको छ। शनिबार आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले उक्त सडक कालोपत्रे योजनाको शिलान्यास गर्नुभएको हो।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री लिम्बूले वर्षौंदेखि हिलो र धुलोको समस्या झेल्दै आएका स्थानीयवासीको दीर्घकालीन मागलाई सम्बोधन गर्न संघीय संसदका निवर्तमान सांसद डा. सुनिल शर्मा र आफू कोशी प्रदेशसभा सदस्य रहँदा संयुक्त पहल गरिएको स्मरण गर्नुभयो। उहाँका अनुसार उक्त सडक खण्डको निर्माणका लागि तीन चरणमा करिब ८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन भइसकेको छ।

मन्त्री लिम्बूले भौतिक पूर्वाधार मन्त्रालयबाट ३ करोड र सहरी विकास मन्त्रालयबाट २ करोड रुपैयाँसहित आवश्यक बजेट सुनिश्चित भई टेन्डर प्रक्रिया समेत सम्पन्न भइसकेको जानकारी दिनुभयो। साथै निर्माण कार्यलाई समयमै सम्पन्न गर्न स्थानीयवासी तथा सर्वसाधारणलाई कुनै पनि किसिमको अवरोध नगर्न अनुरोध गर्नुभयो। सोही अवसरमा उहाँले पथरी शनिश्चरे नगरपालिका–१ भित्रका विभिन्न सहरी सडक खण्डको पुनर्निर्माणका लागि थप १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी पनि दिनुभयो।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। लामो समयदेखि वर्षायाममा हिलो र हिउँदमा धुलो खेप्दै आएका स्थानीयवासीहरू सडक कालोपत्रे हुने भएपछि हर्षित देखिएका छन्। स्थानीय जितेन्द्र ढकालले सडक निर्माणको काम सुरु हुनुलाई ऐतिहासिक उपलब्धि भन्दै खुसी व्यक्त गर्नुभयो।
त्यस्तै स्थानीय व्यवसायी चन्द्रकुमार खड्काले असार महिनाभित्रै निर्माण कार्य सम्पन्न गरी सडक जनतालाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिएकोमा अत्यन्तै खुसी लागेको बताउनुभयो।विगत २० वर्षदेखि धुलो र हिलोका कारण स्वास्थ्य तथा व्यवसायमा समस्या झेल्दै आएको उल्लेख गर्दै सडक निर्माणपछि व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो।

पथरी बजारदेखि हसन्दह, अमरदह हुँदै सुनवर्षी (डाइनिया) सम्म जोडिने यस सडक कालोपत्रे भएपछि आवतजावत सहज हुनुका साथै आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ।




Leave a Reply

Your email address will not be published.