पथरी /मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ रुपैयाँ बराबरको भवन बनाइदिने भएका छन् ।

आफ्ना मातापिताको नाम सदैव अमर रहोस् भन्ने उद्देश्यका साथ डा. शर्माको सहयोगपछि उक्त भवनको भव्य कार्यक्रमका बिच शुक्रबार शिलान्यास गरिएको छ।साथै उक्त विद्यालयको नाम अब श्री जनता लोकनाथ होमादेवी माध्यमिक विद्यालय राखिएको छ। करिब चार करोड रुपैयाँको लागतमा विद्यालय हाताभित्र १० कोठे अत्याधुनिक कम्प्युटर ल्याब तथा शौचालयसहितको भवनको शिलान्यास गरिएको हो । उक्त भवन ६ हजार ४ सय वर्गफुट क्षेत्रफलमा निर्माण हुने जनाइएको छ।
शिलान्यास कार्यक्रमकै अवसरमा डा. शर्माले एमबीबीएस, बीडीएसलगायत काठमाडौं मेडिकल कलेजमा उपलब्ध सबै विषयहरूमा पीएचडीसम्म अध्ययन गर्न थप एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेका छन्। उक्त छात्रवृत्तिमध्ये ५० लाख रुपैयाँ स्थापनाकालमा विद्यालयलाई जग्गा उपलब्ध गराउने नरेन्द्रबहादुर थापाको नाममा र बाँकी रकममध्ये २५/२५ लाख रुपैयाँ डा. शर्माका जिजुबुवा गणपति न्यौपाने र हजुरबुवा गुणलाल न्यौपानेको नाममा स्थापना गरिएको छ।
विद्यालयको नाम परिवर्तन गर्ने प्रक्रिया रतुवामाई नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७२ (तेस्रो संशोधनसहित) को दफा २६ को उपदफा २, ३ र ४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर गरिएको जनाइएको छ।
कार्यक्रममा डा. शर्माले आफू पढेको विद्यालय र शिक्षकहरुले गरेको न्यानो स्वागतले भावुक बनाएको उल्लेख गर्दै यही विद्यालयका संस्थापकहरूले दुःख र संघर्षका बीच खोलेको शैक्षिक संस्थाले आफूलाई आजको स्थानसम्म पुर्याएको बताए। “एउटा असल मानिसको योगदानले हजारौँको भविष्य निर्माण हुन सक्छ,” उनले भने।
साथै उनले विद्यालयका संस्थापकहरूले अत्यन्त दुःख, अभाव र संघर्षका बीच खोलेको यही विद्यालयमा अध्ययन गरेर आफू आज यो स्थानसम्म आइपुगेको स्मरण गरे। आफूले पाएको शिक्षा, संस्कार र प्रेरणाको जड यही विद्यालय भएको उल्लेख गर्दै उनले समाजमा एउटा असल र जिम्मेवार मानिसको योगदानले हजारौँ मानिसको भविष्य निर्माण हुन सक्ने धारणा व्यक्त गरे। विद्यालयप्रतिको ऋण तिर्ने उद्देश्यले नै शिक्षा क्षेत्रमा यो सहयोग गरेको बताए।
कार्यक्रममा रतुवामाई नगरपालिकाका नगर प्रमुख नागेश्वर सिंहले डा. सुनिल शर्मालाई महान् दाताको रूपमा स्मरण गर्दै उनको योगदानको खुलेर प्रशंसा गरे। उनले धन हुने व्यक्ति धेरै भए पनि यति मनकारी, निस्वार्थ र समाजप्रति समर्पित दानवीर विरलै देखिने उल्लेख गरे। डा. शर्माको यो सहयोगले ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने विश्वास समेत व्यक्त गरे।
त्यस्तै कार्यक्रममा बोल्दै कोशी प्रदेशसभा सदस्य गणेश उप्रेतीले डा. सुनिल शर्माको यो सहयोगले विद्यालयका विद्यार्थीहरूमा पढाइप्रति थप आत्मविश्वास र हौसला पैदा भएको बताए। आवश्यक पूर्वाधार, छात्रवृत्ति र प्रोत्साहन उपलब्ध भएपछि अब यस विद्यालयका विद्यार्थीहरूले निजी बोर्डिङ विद्यालयका नतिजालाई समेत चुनौती दिन सक्ने विश्वास आफूले लिएको उनले बताए। यस्तो सहयोगले सामुदायिक विद्यालयप्रतिको जनविश्वास अझ बलियो बनाउने उप्रेतीको भनाइ थियो।
स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा डा. शर्माको योगदानलाई शिक्षा क्षेत्रमा उदाहरणीय र प्रेरणादायी कार्यका रूपमा लिइएको छ।