घर घरमा ‘पानीको पर्खाल’

मोरङ / समाजमा कहिले काहीँ नयाँ नयाँ चेतनासँगै नयाँ नयाँ गतिविधिहरू भइरहन्छन् । कुनै पनि समाजमा भएका नयाँ र सकारात्मक कार्यहरूले सिङगो देशलाई नै उदाहरण दिने गर्छन् । यस्तै नयाँ उदाहरण प्रस्तुत गरेका छन् दमक–४, सम्बन्धटोलका बासिन्दाहरूले ।

उनीहरूले आफ्नो टोलका सर्जक कृष्ण उदाशीको पछिल्लो कृति ‘पानीको पर्खाल’ कविता सङ्ग्रह एक एक प्रति खरिद गरेका छन् । आफ्नो टोलमा बस्ने सर्जकलाई सिंगो टोल साथमा रहेको महसुस गराएर हौसला प्रदान गर्न यसो गरिएको कुरा सदस्य भरतबाबु कार्की बताउँछन् ।

उर्लाबारीमा भएको ‘पानीको पर्खाल’ को गृह विमोचन कार्यक्रमा नै सम्बन्ध टोलले एकसय प्रति पुस्तक खरिद गर्ने घोषणा गरेको थियो । सोही अनुरुप टोलबासीहरूले मोरङको पथरी शनिश्चरे चोक उत्तरको बासेचौरीमा गत पुस १२ गते वनभोज कार्यक्रमको आयोजना गरी सर्जकबाट पुस्तक ग्रहण गरेका थिए । वनभोजस्थलमा वनभोज खान भेलाभएकाहरू माझ पानीको पर्खालभित्रका कविता वाचन समेत गरिएको थियो ।

मानिसहरूमा आधुनिक बन्ने नाममा पुस्तक पढ्ने बानी निकै कम हुँदै गएको छ । त्यसमा पनि साहित्यिक पुस्तक त अझ कम पढ्ने गरिन्छ । यस परिवेशमा साहित्यकार कृष्ण उदाशीको पुस्तक ‘पानीको पर्खाल’ भनें सिङ्गो टोलबासीले नै खरिद गरेर पठन संस्कृतिको विकासमा नौलो आयाम थपेको छ ।

लेखक, सर्जकहरू राष्ट्रका सम्पति भएको र उनीहरूको संरक्षण र संवद्र्धन गर्नु समाज र सिङ्गो राष्ट्रको दायित्व रहेकाले आफूहरूले यो अभियान सञ्चालन गरेको संस्थाका अध्यक्ष इन्द्रकला पण्डित र सचिव भीमबहादुर थापाले बताए ।

पूर्वमा रहेर लामो समयदेखि साहित्यिक गतिविधिमा सक्रिय सर्जक उदाशीको चौथो कृतिका रुपमा रहेको ‘पानीको पर्खाल’ को कार्तिक २२ गते काठमाडौंमा प्रथम विमोचन र कार्तिक २९ गते उर्लाबारीमा गृह विमोचन भएको थियो ।

गृह विमोचनपछि आफ्नै टोलबासीबाट सबैले पुस्तक किनेर पढ्ने निर्णय गरेपछि खुसी भएका उदाशी यो नेपालकै पहिलो घटना हुनसक्ने अनुमान गर्दै भन्छन् ‘मलाई लाग्छ नेपालमा नै सायद यो पहिलो घटना हो कि यसरी सिङ्गो समुदायले नै कुनै सर्जकको पुस्तक एकसाथ खरिद गरिदिएको होस् । यो मेरा लागि त खुसीको विषय हो नै तर देशभरका सर्जकहरूका लागि पनि यो खुसीको कुरा हो ।’

उदाशीको पहिलो कृति ‘दाइजो’ उपन्यास हो, जो २०६४ मा प्रकाशित भएको थियो । २०६७ मा गजल संग्रह दोभानपारि बाबरी र २०७० मा श्रीमती वविता घिमिरेसँगको संयुक्त कथा संग्रह ‘म हराएको साँझ’ प्रकाशित छ । उनका ५ दर्जनभन्दा धेरै गीतहरू पनि रेकर्ड भएर सार्वजनिक भएको छन् ।




Leave a Reply

Your email address will not be published.