एम्बुलेन्स दुरुपयोग गरी गाँजा ओसारपसार, दुई जना पक्राउ

मोरङ / केराबारी गाउँपालिका–५ लाफा टोलमा एम्बुलेन्स प्रयोग गरी लागुऔषध गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

आइतबार राति करिब ११ बजे प्र.१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्समा लुकाइछिपाई गाँजा ल्याइँदै गरेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक राजिव गिरीको नेतृत्वमा खटिएको टोली र इलाका प्रहरी कार्यालय केराबारीबाट प्रहरी सहायक निरीक्षक फजिन्द्र तोलाङगीको टोलीले संयुक्त रूपमा चेकजाँच थालेको थियो।

चेकजाँचका क्रममा प्रहरी टोलीलाई देख्नेबित्तिकै एम्बुलेन्स रोकी चालक तथा सवार व्यक्तिहरू भाग्न खोजेपछि नियन्त्रणमा लिने प्रयास गरिएको थियो। सोही क्रममा प्रहरी सहायक निरीक्षक तोलाङगीले आत्मरक्षाका लागि चिनियाँ पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेका थिए। त्यसपछि एम्बुलेन्समा सवार व्यक्तिहरूलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले एम्बुलेन्सभित्र लुकाइराखिएको लागुऔषध गाँजा १६ पोका बरामद गरेको छ।

पक्राउ पर्नेहरूमा एम्बुलेन्स चालक धनकुटा जिल्लाको शहिदभूमि गाउँपालिका–६ बस्ने ३५ वर्षीय निश्चल राई र सागुरिगढी गाउँपालिका–२ बस्ने २० वर्षीय खगेन्द्र लिम्बु रहेका छन्। बरामद गरिएको एम्बुलेन्स सूर्य बहादुर थापा प्रतिष्ठान, खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिकाबाट सञ्चालित रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै व्यक्ति, एम्बुलेन्स र बरामद लागुऔषधसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ। प्रहरीले एम्बुलेन्स जस्तो संवेदनशील सेवा प्रयोग हुने सवारी साधनको दुरुपयोग गरी लागुऔषध ओसारपसार गर्नेहरूविरुद्ध कडाइका साथ कारबाही जारी रहने जनाएको छ।




Leave a Reply

Your email address will not be published.