विराटनगर / जिल्ला प्रहरी कार्यालय, मोरङले स्रोत नखुलेको नेपाली नगद रकमसहित एक जना व्यक्तिलाई सवारीसाधनसहित नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मिति २०८२/०९/१३ गते राति करिब ११:३० बजे, विराटनगर महानगरपालिका–१५ स्थित सुमसी ट्रेडिङ सेन्टर अगाडिको सडकखण्डमा इलाका प्रहरी कार्यालय रानी तथा इलाका प्रहरी कार्यालय रानी (सीमा)बाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नं. १–०४–००९ च ०२६४ नम्बरको सेतो हुन्डाई कार रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा कारभित्र लुकाइछिपाइ राखिएको नेपाली नगद रु. ६,५०,००० (छ लाख पचास हजार) फेला परेको प्रहरीले जनाएको छ। रकमको स्रोत खुलाउन नसकेपछि उक्त नगद रकमसहित कार र चालकलाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका व्यक्ति विराटनगर महानगरपालिका–६ निवासी ३४ वर्षीय अर्जुन अग्रवाल रहेको प्रहरीले जनाएको छ ।

बरामद नगद रकम र सवारीसाधनसहित उनलाई थप आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, रानीमा राखी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।