आजबाट ओटीटीमा चलचित्र ‘पिआर’, अब मोबाइलबाटै विश्वभर हेर्न सकिने

काठमाडौँ / गत मङ्सिर २६ गतेदेखि सिनेमा हलमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पिआर’ आजबाट ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’ मार्फत सार्वजनिक भएको छ । अब हलमा हेर्न नपाएका दर्शकले मोबाइल तथा इन्टरनेटको माध्यमबाट विश्वभर जहाँबाट पनि चलचित्र हेर्न सक्ने भएका छन् ।

चलचित्रका निर्देशक शोभित बस्नेतका अनुसार दर्शकको माग र पहुँचलाई ध्यानमा राख्दै फिल्मलाई ओटीटीमा ल्याइएको हो । “हलसम्म पुग्न नपाएका दर्शकका लागि सहज रूपमा फिल्म हेर्ने अवसर दिन ओटीटी रिलिज गरेका हौं,” उनले बताए ।

नेपालबाट अस्ट्रेलिया पुगेका युवाहरूले स्थायी आवासीय अनुमति पत्र (पीआर) प्राप्त गर्न भोग्नुपर्ने संघर्ष, सपना र यथार्थलाई कथावस्तु बनाइएको चलचित्र ‘पिआर’ नेपाल र अस्ट्रेलियाका विभिन्न स्थानमा छायांकन गरिएको हो । वैदेशिक रोजगारी र अध्ययनका क्रममा युवाले सामना गर्ने सामाजिक, मानसिक र पारिवारिक पक्षलाई फिल्मले यथार्थपरक रूपमा प्रस्तुत गरेको छ ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी ‘मस्तानी’, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा देखिएका छन् ।

त्यसैगरी विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. नेपाल र दिक्पाल कार्कीको अभिनय पनि रहेको छ । चलचित्रका प्रस्तोता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल रहेका छन् ।

अब ‘एमएसएम भिडियो’ ओटीटी प्लेटफर्ममार्फत चलचित्र ‘पिआर’ मोबाइलमै बसेर, विश्वका जुनसुकै कुनाबाट पनि हेर्न सकिने भएपछि फिल्मप्रेमी दर्शकका लागि यो थप सहज र आकर्षक विकल्प बनेको छ ।




Leave a Reply

Your email address will not be published.