विराटनगर / जिल्ला प्रहरी कार्यालय, मोरङले विराटनगरका दुई होटलमा सञ्चालित क्यासिनोमा अनाधिकृत रूपमा प्रवेश गरी जुवा खेल्ने तथा खेलाउने १७ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।

आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत, मिति २०८२ साल ९ महिना ६ गते राति करिब ११ बजे गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–११ स्थित रत्ना होटल र बिग होटल का क्यासिनोहरूमा छापा मारेको हो। चेकजाँचका क्रममा नेपाली नागरिकहरू क्यासिनो आइडी नलिई जुवा खेलिरहेको अवस्थामा फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रत्ना होटलमा सञ्चालित गोल्डेन क्वाइन क्यासिनोबाट १४ जना र बिग होटलको च्याम्पियन जोन क्यासिनोबाट ३ जना गरी जम्मा १७ जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकामाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गतको कसूरमा ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।
रत्ना होटल (गोल्डेन क्वाइन क्यासिनो)बाट पक्राउ परेका
सोलुखुम्बु, झापा, मोरङ, रामेछाप, सुनसरी, उदयपुर लगायत विभिन्न जिल्लाका १४ जना रहेका छन्। उनीहरू २३ वर्षदेखि ४५ वर्ष उमेर समूहका पुरुष हुन्। त्यस्तै बिग होटल (च्याम्पियन जोन क्यासिनो)बाट पक्राउ परेकामा काभ्रे, बैतडी र मोरङका ३ जना रहेका छन् । जसमा ४५ देखि ५३ वर्ष उमेर समूहका व्यक्तिहरू रहेका छन्।
जिल्ला प्रहरी कार्यालय, मोरङले क्यासिनोमा नेपाली नागरिकको अनधिकृत प्रवेश तथा जुवा खेल्ने/खेलाउने गतिविधिमाथि कडाइका साथ निगरानी र कारबाही जारी रहने स्पष्ट पारेको छ।