नगरपालिकामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो

पथरी / पथरी शनिश्चरे नगरपालिकामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ भव्य रूपमा मनाइएको छ । सो अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम समेत सम्पन्न गरियो ।

नगरपालिकाको सभाहलमा ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो । केक काटेर सुरु गरिएको उक्त कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारी आचार्यको प्रमुख आतिथ्यमा रहेको थियो भने नगरकी जेष्ठ स्वयंसेविका शान्ता राईले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो ।

जनस्वास्थ्य अधिकृतद्वय एकराज खत्री र जगत मगरको संयोजनमा भएको कार्यक्रममा नगरकी जेष्ठ स्वयंसेविका सरस्वती खनाललाई स–सम्मान विदाइ गरिएको थियो । विदाइसँगै उहाँलाई रु. ७० हजार नगद तथा दोसल्ला प्रदान गरी सम्मान गरिएको थियो । खनालले २०४७ सालदेखि पथरी शनिश्चरेमा स्वयंसेविका भएर निरन्तर सेवा प्रदान गर्दै आउनुभएको छ ।

कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नविन खुलाल, राजश्व शाखा प्रमुख तारा ढकाल, बालबालिका शाखा प्रमुख गीता कट्टेललगायतका वक्ताहरूले महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदानबारे शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रम सञ्चालन नगर स्तरीय महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिका सचिव निर्मला भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा नगरका कर्मचारी तथा स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।




Leave a Reply

Your email address will not be published.