सिद्धार्थ सांगीतिक साँझ–५ को लागि प्रेस मिट सम्पन्न : कला, समाजसेवा र युवाको सक्रियता झल्किएको कार्यक्रम

सुन्दरहरैंचा / स्थानीय कला, संस्कृति र सामाजिक उत्तरदायित्वको समन्वयमा निरन्तर क्रियाशील श्री सिद्धार्थ युवा क्लबले आयोजना गर्न लागेको ‘सिद्धार्थ सांगीतिक साँझ–५’ सम्बन्धी जानकारी दिन आज भव्य प्रेस मिट सम्पन्न गरेको छ। मंसिर ५ र ६ गते सुन्दरहरैंचा नगरपालिका –६, खर्साङ्गेनी चोकमा हुन लागेको यो भव्य सांगीतिक कार्यक्रमको तयारीबारे क्लबका अध्यक्ष सजित राई तथा कार्यक्रम संयोजकले विस्तृत जानकारी दिएका हुन्।

अध्यक्ष राईले कार्यक्रमका मुख्य उद्देश्यबारे बोल्दै भने, “सिद्धार्थ सांगीतिक साँझ केवल मनोरञ्जनका लागि आयोजना गरिएको कार्यक्रम होइन, यो युवामा सिर्जनात्मक सोच, सकारात्मक ऊर्जा र सामाजिक चेतना फैलाउने अभियान पनि हो। समुदायको साथ र युवाको सक्रियता नै यस कार्यक्रमको शक्ति हो। यस वर्षको संस्करण अझ भव्य र प्रभावशाली हुनेछ भन्ने विश्वास लिएका छौँ।”

कार्यक्रम संयोजकले आगामी सांगीतिक साँझमा प्रस्तुत हुने आकर्षणबारे जानकारी दिँदै भने, “यसपटक चर्चित गायिका इन्द्रकला राई र लोकप्रिय गायिका सुनिता थेगिमले विशेष प्रस्तुति दिनेछन्। चर्चित नृत्य समूहहरूको सहभागीले कार्यक्रमलाई झनै रंगिन बनाउनेछ। यो प्रतिभा प्रदर्शनको खुला मञ्च मात्र होइन, स्थानीय कलाकारहरूलाई प्रोत्साहन दिने सशक्त अवसर पनि हो।” कार्यक्रम संयोजकका अनुसार यस वर्षको ‘सिद्धार्थ सांगीतिक साँझ–५’ मा आकर्षक नृत्य तथा सांस्कृतिक प्रस्तुति रहनेछ। स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरूको सहभागिता रहने कार्यक्रममा एस स्क्वार फ्यामिली, ग्यालेक्सी क्रू, डी–ग्यालेक्सी क्रू, याप्स डान्स स्टुडियो, लक्ष्मी डान्स सेन्टर तथा बी–अन द डान्स स्टुडियो जस्ता लोकप्रिय नृत्य समूहहरूले रंगारंग प्रस्तुति दिनेछन्। यी समूहहरूको सहभागिताले कार्यक्रमलाई अझ जीवन्त, उत्साहपूर्ण र दर्शकलाई अविस्मरणीय अनुभव दिने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

सांस्कृतिक प्रस्तुति मात्र होइन, क्लबले गर्दै आएको सामाजिक उत्तरदायित्वका कामहरू पनि प्रेस मिटमा विशेष रूपमा प्रस्तुत गरियो। क्लबले विगतदेखि निःशुल्क एम्बुलेन्स सेवा, मृतक परिवारलाई काजकिर्या खर्च सहयोग, अति विपन्न परिवारलाई राहत वितरण, आर्थिक अभावमा रहेका विद्यार्थीलाई छात्रवृत्ति तथा अध्ययन सामग्री सहयोग, साथै क्लब घर मर्मत र ट्रस स्टेज निर्माणजस्ता सामाजिक सेवाहरू निरन्तर गर्दै आएको छ।

कार्यक्रम तयारीमा स्थानीय युवाहरूको उत्साह र सहभागिता उल्लेखनीय रहेको संयोजकले बताए। अध्यक्ष सजित राईको नेतृत्वमा युवाहरूले सांस्कृतिक र सामाजिक उत्तरदायित्व दुवैमा सक्रिय भूमिका खेलिरहेका छन्। प्रेस मिटमा उपस्थित पत्रकार, स्थानीय प्रतिनिधि तथा शुभेच्छुकहरूले क्लबको सामाजिक तथा सांस्कृतिक अभियन्तालाई प्रशंसा गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका छन्।




Leave a Reply

Your email address will not be published.