पथरी / मोरङको पथरी शनिश्चरेमै पहिलोपटक पञ्जा लडाइ प्रतियोगिता शनिबार सम्पन्न भएको छ । द पावर जिम एण्ड फिटनेस क्लवको आयोजना सम्पन्न ‘प्रथम पथरी शनिश्चरे पञ्जा लडाई प्रतियोगिता २०८२’ मा तीन तौल समूहका ३० भन्दा बढी खेलाडी सहभागी भएका थिए ।

५५ किलोमुनि नारायण सुन्दास पहिलो भए भने आर्यन श्रेष्ठ र उजन तामाङले क्रमश दोस्रो र तेस्रो स्थान ओगटे। त्यस्तै ५५–६५ केजि समुहमा विश्वास थापा विजयी बने भने सुजन विक दोश्रो र प्रवेश लिम्बु तेस्रो बनेका थिए। त्यस्तै ६५–७५ किलोतर्फ मौशम लिम्बुले बाजी मारे भने सुमन लिम्बु र शुक्र विश्वकर्मा क्रमशः दोस्रो र तेस्रो भए।
सबै उमेर समुहका विजेता, उपबिजेता र तेस्रो हुनेहरूले क्रमशः ५, ३ र २ हजार नगदसहित मेडल र प्रमाणपत्र पाए। प्रमुख अतिथि संविधानसभा सदस्य लालबहादुर सुस्लिङलगायतको हातबाट पुरस्कार वितरण गरिएको थियो।
उद्घाटन कार्यक्रममा पूर्व नगरप्रमुखदेखि वडाध्यक्ष, सामाजिक अभियन्ता र जेसीज प्रतिनिधिसम्मको उपस्थिति रह्यो। कार्यक्रम संयोजक विशाल बर्देवाले गाउँमा साथीभाइबीच रमाइलोका लागि खेलिने पञ्जा लडाईलाई औपचारिक प्रतियोगितामा रूपान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे।
स्थानीय दर्शकको बाक्लो उपस्थिति, मनपर्ने खेलाडीलाई दिइएको हुटिङ र तालिले वातावरण थप रोमाञ्चक बनायो। पथरी शनिश्चरेमा पहिलो पटक भएको यो प्रतियोगिताले परम्परागत खेललाई नयाँ रूप दिएको छ।