काठमाडौं / एसिया कप २०२५ सेप्टेम्बर ९ देखि सुरु हुँदैछ र यस पटकको प्रतियोगिता टी–२० ढाँचामा खेलाइने छ । एसिया कपको इतिहासमा भारत यस प्रतियोगिताको अहिलेसम्मको सबैभन्दा सफल टोली हो।
तर पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टोलीले यसलाई सहज हुन दिएका छैनन् । यस प्रतियोगिताको इतिहासमा यस्ता धेरै खेल भएका छन्, जसले क्रिकेट फ्यानहरुको मुटुको धडकन निकै ढुकढुकाएको थियो । उसो भए, अब जानौँ यस्ता ५ ऐतिहासिक र रोमाञ्चक खेलका बारेमा, जसले अन्तिम समयमा आश्चर्यजनक जीत हासिल गरेका थिए ।
भारत बिरूद्द पाकिस्तान ( एशिया कप २०१०) : एसिया कप २०१० मा भारत र पाकिस्तानबीचको खेल क्रिकेट इतिहासकै सबैभन्दा रोमाञ्चक क्षणहरूमध्ये एक थियो। अन्तिम ओभरमा भारतलाई जितका लागि ३ रन आवश्यक थियो र भारतीय स्पिन बलर हरभजन सिंह स्ट्राइकमा थिए। खेल हातबाट बाहिर गइरहेको देख्दा भज्जीले छक्का प्रहार गर्दै भारतलाई शानदार जित दिलाए । यसपछि हरभजन र शोएब अख्तरबीचको चर्को बहसले माहौललाई थप तातो बनायो ।
पाकिस्तान बिरूद्द बंगलादेश ( फाइनल, एशिया कप २०१२) : एसिया कप २०१२ को फाइनलमा बंगलादेश र पाकिस्तान आमनेसामने भएका थिए। यस खेलमा बंगलादेश जितको निकै नजिक थियो। टोलीले खेलको सुरु देखि नै आफ्नो दबदबा कायम गरेको थियो । तर, अन्तिम समयमा पाकिस्तानले बलियो कमब्याक गर्दै बंगलादेशसँग २ रनले जित खोसेको थियो । यो पराजय बंगलादेश क्रिकेट इतिहासकै सबैभन्दा पीडादायी क्षण बन्यो ।
भारत बिरूद्द पाकिस्तान ( एशिया कप २०१४) : सन् २०१४ को भारत–पाकिस्तान खेल पनि फ्यानका लागि हृदयविदारक थियो । पहिले ब्याटिङ गरेको भारतले २४५ रन बनाएको थियो । अन्तिम ओभरमा पाकिस्तानलाई जितका लागि १० रन आवश्यक थियो। भारतीय कप्तान एमएस धोनीले रविचन्द्रन अश्विनलाई बल दिए तर शाहिद अफ्रिदीले आफ्नो ओभरमा लगातार दुई छक्का प्रहार गर्दै पाकिस्तानलाई १ विकेटले जित दिलाउन सफल भएका थिए।
भारत बिरूद्द अफगानिस्तान ( एशिया कप २०१८ं) : अफगानिस्तानले एसिया कप २०१८ मा भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो। भारतले पहिले ब्याटिङ गर्दै २५२ रन बनाएको थियो। अफगानिस्तानका ब्याट्सम्यानले खेललाई अन्तिम बलसम्म तान्दै खेल बराबरीमा ल्याएका थिए । यो ड्र भारतका लागि स्तब्ध र अफगानिस्तानका लागि ऐतिहासिक जीत बन्न पुगेको थियो।
पाकिस्तान बिरूद्द अफगानिस्तान (एशिया कप २०२२) : सन २०२२ मा अफगानिस्तानले पाकिस्तानलाई १ सय ३१ रनको मात्र लक्ष्य दिएको थियो तर अफगानिस्तानका बलरहरूले आफ्नो उत्कृष्ट बलिङले अचम्मको काम गरे । पाकिस्तानका ब्याट्सम्यान अन्तिम ओभरसम्म दबाबमा थिए । यस खेलमा पाकिस्तानको जित कठिन देखिएका बेला नसिम शाहले लगातार दुई छक्का प्रहार गर्दै पाकिस्तानलाई १ विकेटले जित दिलाएका थिए ।