कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन भौंसाबारीमै बन्ने, सर्वोच्च अदालतले विवाद टुंग्यायो

पथरी / कानेपोखरी गाउँपालिकाको बहुप्रतीक्षित प्रशासनिक भवन अब वडा नं. ५ भौंसाबारीमै निर्माण हुने भएको छ। यस सम्बन्धमा लामो समयदेखि चलिरहेको विवादलाई सर्वोच्च अदालतले अन्तिम टुंगोमा पुर्‍याएको छ।

गएको २०८० माघ २९ गते बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गाउँपालिकाको भवन वडा नं. ६ को रमाइलोबाट सरेर वडा नं. ५ को भौंसाबारीमा बनाउन सिफारिस गरेको थियो। यसअघि २०८० वैशाख १७ गते गाउँसभाको तेह्रौँ अधिवेशनले पनि दुई तिहाइ बहुमतले यही निर्णय गरेको थियो। तर निर्णयसँग असहमत पक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। उनीहरूले भवन पुरानै स्थान रमाइलोमा बनाइनुपर्ने माग राखेका थिए।

अन्ततः सर्वोच्च अदालतले २०८२ साल साउन २० गते विपक्षीको रिट खारेज गर्दै भौंसाबारीमै भवन निर्माण गर्न सकिने स्पष्ट आदेश दिएको छ। गाउँपालिकाले भवन निर्माण प्रक्रिया अघि बढाइसकेको प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवले जानकारी दिइन्। उनका अनुसार अहिले बोलपत्र प्रक्रिया अघि बढ्दैछ र बिडरहरूको पूर्व योग्यता मूल्यांकन भइरहेको छ।

अपाङ्गमैत्री सुविधा समेटिने गरी भवन तीनतले हुनेछ र यसको अनुमानित लागत १६ करोड रुपैयाँ रहेको छ। संघीय सरकारबाट ६० प्रतिशत र गाउँपालिकाबाट ४० प्रतिशत लागत व्यहोर्ने गरी निर्माण गरिनेछ। भवन निर्माणको बाटो खुलेपछि स्थानीयवासीहरू खुसी भएका छन्। अब गाउँपालिकाको सेवा प्रवाह अझ सहज र प्रभावकारी हुने स्थानीयको विश्वास छ।




Leave a Reply

Your email address will not be published.