दोस्रो पथरीशिश्चरे गोल्डकप कात्तिक १५ देखि

पथरी / दोस्रो अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता यही कात्तिक १५ गतेदेखि २२ गतेसम्म पथरी शनिश्चरेस्थित प्रस्तावित पथरी रंगशालामा हुने भएको छ।

आयोजक पथरी ११ फुटबल क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आयोजनाको औपचारिक घोषणा गरिएको हो।

क्लबका अध्यक्ष सुमन विकका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार नगद ५ लाख रुपैयाँ र दोस्रो पुरस्कार २ लाख ५० हजार रुपैयाँ रहनेछ। प्रतियोगिताको कुल अनुमानित लागत ६० लाख रुपैयाँ रहेको जानकारी दिँदै उनले २० लाख रुपैयाँ मुख्य प्रायोजक र ५ लाख सह-प्रायोजकबाट जुटाइने लक्ष्य रहेको बताए।

कार्यक्रममा क्लबका मुख्य प्रशिक्षक अर्जुन बस्नेत तथा पहिलो संस्करणका संयोजक जितन राईले दोस्रो संस्करणलाई अझ भव्य बनाउने योजना रहेको उल्लेख गरे। संयोजक राईले भने, “स्थानीय युवा प्रतिभा र अन्तर्राष्ट्रिय खेलाडीहरूबीच प्रतिस्पर्धा गराउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।”

सो अवसरमा प्रमुख अतिथिका रूपमा उपस्थित पथरी शनिश्चरे खेलकुद विकास समितिका संयोजक दीपक राईले प्रतियोगिता सफल बनाउन नगरपालिकाको तर्फबाट पूर्ण सहयोग गरिने प्रतिबद्धता जनाए।

क्लबले प्रतियोगितासँग सम्बन्धित आर्थिक विवरण पनि सार्वजनिक गरेको छ। क्लब अध्यक्ष सुमन विकद्वारा प्रस्तुत विवरणअनुसार, पहिलो संस्करणपछिको कुल आम्दानी १७ लाख ८५ हजार ८४० रुपैयाँ,कुल खर्च १४ लाख ८१ हजार १५५ रुपैयाँ र बैंक मौज्दात ३ लाख ४ हजार ६८५ रुपैयाँ रहेको छ।




Leave a Reply

Your email address will not be published.