पथरी ११ फुटबल क्लबको कार्यालय उद्घाटन

पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेर विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउदै आएको खेल संस्था पथरी ११ फुटबल क्लबको कार्यालय शनिवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ। कार्यक्रममा नगरका खेलप्रेमी, पत्रकार, खेलाडी, जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य क्लबका टिम कोच अर्जुन बस्नेतले राखेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख मोहन तुम्वापोले पथरीशनिश्चरे नगरमा हुने खेलकुद गतिविधिमा नगर खेलकुद विकास समितिको माध्यमबाट विभिन्न सहयोग भइरहेको बताउदै क्लवलाई सहयोग गर्न नगर सधै तयार रहेको बताए । उनले खेलकुद क्षेत्रमा अनावश्यक राजनीति र नातावादका कारण धेरै प्रतिभा ओझेलमा परेको भन्दै योग्य र सक्षम खेलाडीलाई प्राथमिकता दिनु आवश्यक रहेको धारणा राखे। प्रमुख अतिथि तुम्वापोले क्लबलाई नगरको खेलकुद गरिमाका रूपमा चिनाउँदै यसले स्थानीय युवा प्रतिभाको विकासमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उद्घाटन कार्यक्रममा बोल्दै पूर्वखेलकुदमन्त्री डिगबहादुर लिम्बूले आफ्नो कार्यकालमा खेलाडीले जितेको पुरस्कार तत्काल उपलब्ध हुने नीति ल्याएको स्मरण गर्दै खेलाडीले जित्दा देशले जित्ने हुदा खेल जीवनलाई समुन्नत बनाउन हामी सबैले सहयोग गर्नुपर्ने बताए । उनले नेपालले अहिले विभिन्न अन्तर्राष्ट्रिय खेलमा सफलता पाउँदै आएको उल्लेख गर्दै अझै प्रभावकारी योजना र व्यवस्थापनको खाँचो रहेको बताए।

क्लब अध्यक्ष सुमन बिकले पथरी ११ फुटबल क्लबले पथरीगोल्डकपपछिमात्र पाँचवटा ट्रफि हात पारेको जानकारी दिँदै क्लबलाई ए डिभिजन सम्म पुर्याउने लक्ष्य रहेको बताए। उनले आगामी दिनमा देशका जुनसुकै प्रतियोगितामा सहभागिता जनाउने योजना रहेको र दोस्रो संस्करणको गोल्डकपको तयारी समेत भइरहेको बताए। साथै, खेलमैदानको व्यवस्थापनका लागि बजेट जुटाउने पहल भइरहेको र अन्तर्राष्ट्रिय क्लबहरूसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको क्लब बनाउने लक्ष्य रहेको उनले प्रस्ट पारे।

 




Leave a Reply

Your email address will not be published.