पथरी। दोश्रो पथरीशनिश्चरे नगर खेलकुद महोत्सव आजबाट सुरु हुने भएको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट तथा नीति कार्यक्रमअन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा हुन लागेको खेलकुद महोत्सवको तयारी सम्पन्न भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष दिपक राईले जानकारी दिए ।
उनका अनुसार महोत्सवको उद्घाटन कार्यक्रम आज (शनिबार) दिउँसो २ बजे नगर प्रमुख मोहन प्रसाद तुम्बापोको प्रमुख आतिथ्यतामा जाँतेमोडस्थित खेलमैदानमा हुनेछ । महोत्सव बैशाख ३० गतेसम्म सञ्चालन हुनेछ ।
समिति सदस्य-सचिव तथा शिक्षा,युवा तथा खेलकुद विकास शाखा प्रमुख नविन खुलालका अनुसार यसपटक महिला तथा पुरुष फुटबल, पुरुष भलिबल, पुरुष क्रिकेट, बुद्धिचाल, कराँते, मिनि म्याराथन, भारोत्तोलन र पौडी प्रतियोगिता समावेश गरिएका छन् । प्रतियोगिताहरू जाँतेमोड, जिरीखिम्ति, किर्तिपुर लगायतका स्थानमा सञ्चालन हुनेछन् ।
महोत्सवका लागि करिब १४ लाख ५० हजार रुपैयाँको अनुमानित बजेट छुट्याइएको छ । जस मध्ये पुरुष फुटबल तर्फ विजेताले १ लाख, उपविजेताले ५० हजार, महिला फुटबल विजेता १५ हजार, उपविजेता ७ हजार, भलिबल विजेता ३१ हजार, उपविजेता २१ हजार, क्रिकेट विजेता ३५ हजार, उपविजेता २० हजार, कराँते (पुरुष/महिला) विजेता ५/५ हजार, म्याराथन प्रथम ७ हजार, द्वितीय ५ हजार, तृतीय ३ हजार, सान्त्वना २ हजार, बुद्धिचाल: प्रथम १० हजार, द्वितीय ६ हजार, तृतीय ४५ सय, चौथो ३५ सय, पाँचौ २५ सय, पौडी प्रथम ५ हजार, दोस्रो ३ हजार, तृतीयले २ हजार प्राप्त गर्नेछन् ।
विजेताहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र अन्य विधागत पुरस्कार प्रदान गरिनेछ ।
नगरपालिकाले युवाहरूमाझ खेलकुदको माध्यमबाट सहकार्य, नेतृत्व विकास र सामुदायिक सशक्तिकरण प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्दै आएको जनाएको छ ।