पथरी / माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेशा ५०१९ पथरीशनिश्चरेमा मगर समुदायले भव्य रूपमा मनाएका छन् । मंगबार नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच, सम्मान तथा खेलकुद कार्यक्रमसहित विविध सांस्कृतिक कार्यक्रमहरुको साथ भव्य रुपमा मनाएको हो ।
कार्यक्रमको मुख्य आकर्षण रहेको हुर्रा नाचमा मगर समुदायका विभिन्न कलाकारले आफ्नो संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए । ‘पारि गाउँमा हौ, वारी गाउँमा घाम लाग्यो…’ बोलको चर्चित गीतमा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहनविक्रम दाहाल, शैक्षिक अभियन्ता प्रदिपकुमार राई, गुरुङ समुदायका प्रतिनिधि हेमभक्त लगायत अतिथिहरूले हुर्रा नाचमा सरिक भएका थिए ।
कार्यक्रममा लोकप्रिय गायक महेश बुडाथोकीले आफ्नो लोकप्रिय गीत ‘काफल गेडी कुटुक्कै…’ प्रस्तुत गरेका थिए । यसका साथै, उनले भिडियो रिलिज हुन लागेको आफ्नै हुर्रा भाकाको गीतमार्फत दर्शकलाई नचाएका थिए । उनका प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
कार्यक्रममा नगर प्रमुख तुम्वापोले पथरीशनिश्चरे नगरले विभिन्न जातजातिको भाषा, कला, र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा विशेष ध्यान दिएको उल्लेख गरे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अर्जुन जम्नेली राई, शैक्षिक अभियन्ता प्रदिपकुमार राई, हेमभक्त तमु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
आयोजकले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत यस वर्ष ८४ वर्षीय हस्तमाया मगर र ९० वर्षीय पदम मगरलाई दोसल्ला, नगद र सम्मानपत्रले सम्मान गरेको थियो ।
खेलकुदतर्फ छेलो हान्ने प्रतियोगितामा समिप सारू मगर विजेता बने । सियोमा धागो उन्ने प्रतियोगितामा निक्कु मगर, विष्णु मगर, कुमारी मगरले क्रमशः स्थान हासिल गरे भने चम्चा दौडमा रोशनी मगर प्रथम भएकी थिन् ।
मगर संघ नगर अध्यक्ष टंक राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई खेगेन पुलामी मगरले संचालन गरेका थिए ।