पथरी / मोरङकाे पथरीशनिश्चरे नगरपालिकाले क्षयरोग मुक्त नगर घोषणा अभियानलाई तीव्रता दिन नगरपालिका स्तरीय समिति गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार नगरपालिकाकाे सभाहलमा आयोजित साे कार्यक्रम नगर प्रमुख माेहनप्रसाद तुम्वापाेको अध्यक्षतामा सम्पन्न भएकाे हाे ।
कार्यक्रममा पथरीशनिश्चरे स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, जनस्वास्थ अधिकृत जगत मगर, जनस्वास्थ निरिक्षक एकराज खत्री, प्रशासन शाखा प्रमुख शिव राई, १० वटै वडाका जनप्रतिनिधिहरू स्वास्थ्य क्षेत्रका प्रतिनिधि, सामाजिक संस्थाका पदाधिकारीहरू, र सरोकारवाला पक्षहरूको सहभागिता रहेकाे थियो ।
अभियान अन्तर्गत समिति गठनमा संयाेजक नगरप्रमुख माेहनप्रसाद तुम्वापाे, सह- संयाेजक नगर उपप्रमुख देविमायाँ काफ्ले, सदस्य सचिव नगर स्वास्थ प्रमुख मुरारी आचार्य, सदस्य प्रमुख प्रशासकीय अधिकृत शशी राई तगाय २२ सदस्यीय समिति गठन भएकाे छ ।
प्रदेश स्वास्थ निर्देशनालय धनकुटाका क्षयराेग कुष्ठराेग अधिकृत तुलसी प्रसाद ढकालले क्षयरोग निवारणका लागि समुदायमा जनचेतना फैलाउने, बिरामी पहिचान गर्ने, र समयमै उपचार सुनिश्चित गर्ने प्रक्रियाबारे जानकारी दिनुभयाे ।
अभियान अन्तर्गत नगरपालिका स्तरीय समिति गठन गरिनुका साथै समितिका सदस्यहरूलाई अभियानको कार्यान्वयन रणनीतिबारे अभिमुखीकरण गरिएको क्षयराेग मुक्त अभियानका संयाेजक मुकेश पाैडेलले जानकारी दिनुभयाे । उहाले भन्नू भयाे, समितिले क्षयरोगबारे स्थानीय स्तरमा जनचेतना फैलाउने, समुदायमा सहज पहुँच पुर्याउने, र सम्भावित बिरामीहरूलाई स्वास्थ्य परीक्षणमा सहभागी गराउने लक्ष्य लिएको छ ।
नगर प्रमुख माेहनप्रसाद तुम्वापाेले कार्यक्रममा बोल्दै पथरी शनिश्चरे नगरपालिकालाई सकेसम्म छिटाे क्षयरोग मुक्त क्षेत्र घोषणा गर्ने उद्देश्य रहेको बताउनु भयाे । उहाले समुदायको सहकार्य र स्वास्थ्य संस्थाहरूको प्रभावकारी भूमिकाले मात्र यो लक्ष्य हासिल गर्न सकिने कुरामा जोड दिनुभयाे । यसैगरी, स्थानीय तहले यस अभियानलाई सफल बनाउन आवश्यक नीति तथा स्रोत साधनको व्यवस्थापन गर्ने नगरप्रमुख तुम्वापाेले प्रतिबद्धता जनाउनु भयाे ।