बजेटमा ठुला नेताहरुको चलखेलका कारण अपेक्षाकृत काम गर्न गाह्रो भइरहेको छ : सुनिल शर्मा

पथरी / मोरङ क्षेत्र नं ३ का संघीय सांसद डा. सुनिल शर्माले जहाँ ठुला नेताहरूको पहुँच बढी छ, त्यहाँ मात्रै बढी बजेट पार्ने गरेका कारण अपेक्षाकृत काम गर्न गाह्रो भइरहेको बताएका छन् ।

मोरङको पथरी शनिश्चरे १० स्थित सिरीजङ्गा स्मृति धार्मिक वन समितिद्वारा मंगलावार आयोजित चासोक तङ्नाम, उधौली पूजा तथा यले सम्वत् ५०८४ विशेष कार्यक्रममा बोल्दै सांसद शर्माले उक्त कुरा बताएका हुन् । उनले यस क्षेत्रका जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकेको स्वीकार गर्दै बर्षौदेखिको भूमिहीन सुकुम्बासी तथा दोहोरो संयुक्तका समस्याहरु भने केहि वर्षभित्रै समाधान हुने समेत बताए ।

३० वर्षको अन्तरालमा बसन्त भट्टराई आयोग पछाडिको भूमिहीन सुकुम्बासीहरूको समस्या समाधानका लागि पथरी शनिश्चरे देखि विराटचोक सम्मका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूका लागि निस्सा वितरण गरिसकेको र सुकुम्बासी समस्या समाधान आयोगको केन्द्रीय अध्यक्ष नियुक्ती भइसकेको बताउँदै चाँडै नै मोरङका लागि समस्या आयोग को जिल्ला अध्यक्ष नियुक्ति हुने र आगामी डेढ वर्षभित्रमा समस्या समाधान हुने आफूले विश्वास लिएको बताए ।

सो अवसरमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले नेपाल विविध जातजातिको साझा फूलबारी भएकाले सबै जातजातिहरूको भाषा, साहित्य, संस्कृति आदि संविधान प्रदत्त अधिकार संरक्षण गर्न पथरीशनिश्चरे नगरपालिका सदैव तत्पर रहेको बताए ।

सिरीजङ्गा स्मृति धार्मिक वन समितिका अध्यक्ष डम्बर चोङ्बाङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का अध्यक्ष नवीनजंग कार्की, आदिवासी जनजाति महासङ्घ पथरी शनिश्चरे अध्यक्ष देवेन्द्र वनेम, वडा नं १ का वडाध्यक्ष भीम कुमार राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।