महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा सम्मान तथा बाल गृहलाई खाद्यान्न

पथरी / पथरी शनिश्चरे नगरपालिका अन्तर्गत कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुले २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८१ मनाएको छ ।

आज उर्लाबारीमा स्थापित नमूना बाल गृहमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८१ मनाइएको हो । नगर प्रमुख तुम्वापोले मन्तव्यका क्रममा भन्नुभयो–‘आज नगरबाट सानो सहयोग प्रदान गरिएको हो, बाल गृहलाई थप नगरपालिकाले १ लाख रुपैयाँ सहयोग प्रदान गरिनेछ ।’

सो अवसरमा पथरी शनिश्चरे नगरपालिकाको तर्फबाट बाल गृहलाई खाद्यान्न सामग्रीहरू वितरण गरिएको थियो । सो अवसरमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका पदमा रही महिला तथा बालबालिकाहरुको स्वास्थ्य सुधार गर्ने कार्यमा अहम भूमिका निर्वाह गर्दै जीवनको ६० औं वर्ष पूरा गरी सेवा निवृत्त हुनुभएकी वडा नं. ९ कि कमला कुमारी माझीलाई नगद ७० हजार सहित सम्मान गरिएको छ ।

महिला स्वास्य स्वयंसेविका पथरी शनिश्चरे नगर अध्यक्ष लिला कुमारी सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य स्वयंसेविका निर्मला भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो । यसैगरी वडाध्यक्ष तथा नगर प्रवक्ता नविन कार्की र नमूना बाल गृहकी अध्यक्ष मिना बरालले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा उप–प्रमुख देविमाया काफ्ले, वडा अध्यक्षद्वय भीम राई, जीवन खतिवडा, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, स्वास्थ्य अधिकृत सिअहेव एकराज खत्री र नगरका स्यवंसेविकाहरुको उपस्थिति रहेको थियो ।