पथरी / पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले नगरका सामुदायिक विद्यालयहरूलाई सुधार गरिदै लगिने बताउनुभएको छ ।
साङ्गीतिक पी टी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रमको औपचारिक उद्घाटन गर्दै नगर प्रमुख तुम्वापोले सो कुरा बताउनुभएको थियो । उहाँले भन्नुभयो–‘सामुदायिक विद्यालयहरु सुधार गर्ने पक्षमा नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ, सोही अन्तर्गत यो कार्यक्रमसँगै विद्यालयमा व्यवहारिक ज्ञानहरु पनि प्रदान गरिदै लगिनेछ ।’
आज वडा नं. १ को पञ्चायत माविमा ‘हामी सुधार्छौं हाम्रो विद्यालय’ सामुहिक उद्घोष र संकल्पका साथ आयोजित पालिकाका सामुदायिक विद्यालयहरूमा प्रविधिउन्मुख व्यावहारिक ज्ञान आर्जन सहितको साङ्गीतिक पी टी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रमको उद्घाटन गरिएको हो ।
पथरी शनिश्चरे नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा र वडा नं. १ को कार्यालयको आर्थिक सहयोग र पञ्चायत माविको व्यवस्थापनमा सो पी टी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम सुरु भएको हो । पञ्चायत माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटाको अध्यक्षतामा भएको सो कार्यक्रम ३ दिनसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा स्वागत मन्तव्य पञ्चायत माविका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले राख्नुभएको थियो । चर्चित मोटिभेशनल स्पिकर हरिश ओली, संविधानसभा सदस्य/ पूर्व प्रधानाध्यापक चन्डीप्रसाद राई, बुद्ध माविका प्रधानाध्यापक बोधराज सिग्देलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यसैगरी कार्यक्रममा नगर उप–प्रमुख देविमाया काफ्ले, नगरका शिक्षा शाखा प्रमुख नविन खुलाल, इप्रका पथरीका प्रमुख डिएपी मोहनविक्रम दाहाल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, नगरका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सामुदायिक विद्यालयका प्रधानाध्यपकहरुको उपस्थिति रहेको थियो ।