सलहेश फुटवल क्लब र झापा ११ बेलबारी गोल्डकपको उपाधिका लागि भिड्ने

बेलबारी / काठमाडौं लिग बिजेता चित्लाङ फुटबल क्लबलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै सलहेस फुटबल क्लब सिराहा मोरङको बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौं आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सलहेश फुटवल क्लवको शनिवार हुने फाइनलमा झापा–११ फुटवल क्लवसँग भेट पक्का भएको छ । बेलबारी ११ को लक्ष्मी खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा अग्रता भने चित्लाङ फुटबल क्लबले चौथो मिनेटमा गरेको थियो । चित्लाङका समन धिमालले सलहेशका चार खेलाडी बिट गर्दै निकालेको पासलाई हेनरीले गोल गर्दै अग्रता दिलाएका थिए । तर, चित्लाङको अग्रता मध्यान्तर सम्म पनि टिक्न सकेन ।

सलहेस क्लवको जितका लागि अजयी मार्टिनले ह्याट्रिक पुरा गरे । थप दुई गोल आदित्य शाक्यको नाममा रह्यो । अजयी मार्टिन खेलको ६८ औं,८६ औं र दोस्रो हाफ पछिको अतिरिक्त समयमा गोल गरेर बेलबारी गोल्डकपमा पहिलो ह्याट्रिक गर्ने खेलाडी बने । आदित्य शाक्यले टिमका लागि पहिलो हाफको अतिरिक्त समयमा र ७८ औं मिनेटमा गोल गरे । मध्यान्तर अघिको अतिरिक्त समयमा चित्लाङ बिरुद्ध आदित्य शाक्यले १ गोल गरेपछि सलहेश खेल फर्किएको थियो ।

मध्यान्तरपछि एकपक्षीय खेल खेलेको सलहेसले चित्लाङलाई दबाबमा राखेको थियो । शुक्रबार दुबै टिमले चार/चार जना बिदेशी खेलाडी मैदानमा उतारेका थिए । आजको खेलमा ह्याट्रिक गर्ने सलहेस फुटवल क्लवका अजयी मार्टिन म्यान अफ द म्याच घोषित भए । उनलाई कोशी प्रदेश सरकारका उद्योग ,कृषि तथा सहकारी मन्त्री खगेन्द्रसिंह हाङगामले नगद ५ हजार सहित म्यान अफ द म्याचको ट्रफि प्रदान गरे ।

शनिबार हुने फाइनल खेलमा सलहेसले झापा ११ फुटबल क्लवसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पहिलो पटक १० वटा टिमले प्रतिस्पर्धा गरेको बेलबारी गोल्डकपका बिजेताले अढाई किलो चाँदीमा २ तोला सुन जडित ट्रफि सहित नगद आठ लाख रुपियाँ र उप विजेताले चार लाख नगद र ट्रफि प्राप्त गर्नेछन् ।