नगरका सहकारीका प्रतिनिधिहरूसँग वृहत् छलफल

पथरी / पथरी शनिश्चरे नगरपालिकाको आर्थिक विकास समितिको संयोजक उद्धवराज बस्नेतको अध्यक्षतामा मंगलवार बैठक सम्पन्न भएको छ ।

नगरपालिकाको सभाहलमा भएको सो बैठकमा विशेष गरेर नगर भित्र मुख्य कार्यालय र सेवाकेन्द्र रहेका सहकारीका प्रतिनिधिहरुसँग नगर प्रमुख मोहन प्रसाद तुम्वापोले परिचयात्मक कार्यक्रमसँगै सहकारीका विषयमा विस्तृत जानकारी लिनुभएको थियो ।

बैठकमा नगरपालिकाभित्र आफ्नो कार्यक्षेत्र भई अभिलेखिकरण गरी सेवाकेन्द्र सञ्चालन भएका प्रदेश अन्तर्गत रही मुख्य कार्यालय रहेका तथा यस नगरपालिकाको नियमन क्षेत्राधिकारभित्र रहेका प्रतिनिधिमूलक सहकारी संस्थाहरुसँग सहकारीका विविध विषयमा छलफल गरिएको थियो ।

यस्तैगरी बैठकमा सहकारीमा देखिएका समस्याप्रति सचेत हुँदै सहकारी ऐन, नियमावली लगायत सहकारी विभागबाट जारी भएका विभिन्न निर्देशिका, निर्देशन, परिपत्र लगायतका परिधिमा रहेर संस्था सञ्चालन गर्न प्रतिवद्ध हुने सहमति पनि भएको छ । सहकारी सञ्चालनमा देखिएका केही वेथितिप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ ।

यसैगरी वेथिति नगर्न नगराउन, सहकारी संस्थाहरु, नियमन निकाय र सरकारलाई कडाइँका साथ नियमन गर्न बैठकले अनुरोध गरेको छ । बैठकमा नगर उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, आर्थिक विकास समितिका सदस्य सिता भुषाल, मन्जु राई, नगरको सहकारी शाखा प्रमुख केशवदेवी धमला, पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख सबल पोख्रेल, कृषि विकास शाखा प्रमुख सविना राई लगायतको उपस्थिति रहेको थियो ।