बाढी-पहिरोमा उद्धारको लागि १६ सय ३० सशस्त्र प्रहरी परिचालित

काठमाडौँ / अविरल बर्षाको कारण नेपालका विभिन्न जिल्लाहरुमा भएको घटनाको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १ हजार ६३० जना जनशक्ति परिचालन भएको छ । बर्षासँगै आएको बाढि, पहिरो र डुवानमा परी हालसम्म ११ जना वेपत्ता, १० जनाको मृत्यु, १ सय ६२ स्थानहरुमा भौतिक क्षति भएको छ भने सुरक्षा फौजले ७ सय ६० जनाको सकुशल उद्धार गर्न सफल भएका छन् ।

पाँचथर जिल्लाको विभिन्न ठाउँहरुमा २ जनाको मृत्यु, १ ठाउँमा भौतिक क्षति भएको छ भने सो स्थानमा उद्धारको लागि १० जना सुरक्षा फौज खटिएको छ । यसैगरी ओखलढुङ्गामा पनि एक स्थानमा भौतिक क्षति भएको छ । धनकुटा जिल्लामा पहिरोको कारण २ जना वेपत्ता, २ जनाको मृत्यु र एक स्थानमा भौतिक क्षति भएको छ भने उद्धारका लागि १३ जनाको सुरक्षा फौज खटिएको छ ।

यसैगरी झापा जिल्लाका विभिन्न ठाउँमा डुवानमा परी ७७ स्थानहरुमा भौतिक क्षति, १ जनाको मृत्यु भएको छ भने ४३ जनाको सुरक्षा फौजले ३ सय २५ जनाकोे सकुशल उद्धार गरेका छन् ।

मोरङका विभिन्न ठाउँहरुमा डुवानमा परि ५८ स्थानहरुमा भौतिक क्षति भएको छ भने २३ जनाको सुरक्षा फौजले १ सय ७६ जनाको सकुशल उद्धार गरेका छन् । यसैगरी रौतहटका १० स्थाहरुमा डुवानमा परी भौतिक क्षति भएको छ भने उद्धारका लागि १५ जना सुरक्षा फौज परिचालन भएको छ ।

धादिङमा खोलाले बगाई एक जना वेपत्ता, एक जनाको मृत्यु भएको छ भने २ जनाको सकुशल उद्धार गरिएको छ । यसैगरी गोरखामा उद्धारका लागि २५ जना सुरक्षा टोली परिचालन भएको छ ।

सिन्धुलि जिल्लामा आएको बाढिले ५ स्थानहरुमा भौतिक क्षति भएको छ भने ११ जनाको सुरक्षा फौज परिचालन भई ३३ जनाको सकुशल उद्धार गरेको छ । यसैगरी काभ्रे जिल्लामा आएको पहिरोमा परि ३ जनाको मृत्यु, ७ स्थानहरुमा भौतिक क्षति भएको छ उद्धारका लागि १५ जनाको सुरक्षा फौज परिचालन भएका छन् ।

यसैगरी काठमाडौं जिल्लाका विभिन्न स्थानहरुमा आएको बाढिका कारण एक जनाको मृत्यु, एक जना बेपत्ता भएका छन् भने १ हजार ४ चार ७४ जना सुरक्षा फौज परिचालन भई २ सय २४ जनाको सकुशल उद्धार गरेका छन् । यसैगरी ललितपुर जिल्लाका विभिन्न ठाउँहरुमा आएको पहिरोले १ जनाको मृत्यु, ६ जना बेपत्ता भएका छन् भने २ स्थानहरुमा भौतिक क्षति भएको छ । उपत्यकाको ३ वटै जिल्लामा मोटरबोटसहितको सशस्त्र प्रहरी बल नेपालको टोली परिचालित छ ।