लालीगुराँस साकोसको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न

बेलबारी / लालीगुराँस साकोसका नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको पदस्थापन सम्पन्न भएको छ ।

सोमबार साँझ साकोसको सभा हलमा आयोजित एक औपचारीक कार्यक्रमका बिच नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन सम्पन्न भएको हो । पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाकी उप प्रमुख नीतु थापा कोइरालाले मुलुकमा बढ्दो सहकारी समस्यालाई मध्यनजर गर्दै सजक भएर काम गर्न नवनिर्वाचित समितिलाई सुझाव दिएकी छन् । कोइरालाले राजनीतिक रुपमा उच्च स्थानमा पुगेकाहरूले नै सहकारीमा समस्या निम्त्याएको स्मरण गर्दै लालीगुराँसमा त्यो अवस्था नआउने गरी काम गर्न सुझाव दिएकी हुन् । उनले भनिन् ‘संस्था कसरी चलाउने भनेर मैले सिकाउनु भनेको इन्द्रका अगाडि चन्द्रको बयान भने झैँ हुन्छ । तर हाल मुलुकमा उच्च राजनीतिक तहमा रहेकाहरूबाटै सहकारी सङ्कटमा परेको अवस्था छ । लालीगुराँस साकोसमा त्यो किसिमको समस्या नआउने गरी काम गर्नुहोला ।’

त्यस्तै संस्थाका निवर्तमान अध्यक्ष दुर्गा गौतमले नयाँ कार्यसमितिले फरक रणनीतिका साथ संस्थालाई थप सबल बनाउनेमा आफू ढुक्क रहेको जिकिर गरे । उनले नयाँ समिति आउँदैमा पुराना रणनीति र निर्णय विस्थापित हुन्छन् भन्ने भाष्य समाजमा रहे पनि लालीगुराँसको सवालमा त्यो अवस्था नआउने विश्वास व्यक्त गरे । उनले भने ‘नयाँ समिति आएपछि आफ्नो फरक रणनीति त निर्माण गर्छ नै तर जसरी समाजमा नयाँ कार्यसमिति आएपछि पुराको समितिको निर्णय र रणनीति विस्थापित हुन्छ भन्ने भाष्य छ, त्यो लालीगुराँसको हकमा लागू हुँदैन भन्नेमा म विश्वस्त छु । नवनिर्वाचित अध्यक्षसँग म आफै पनि लामो समय एउटै कार्यसमितिमा बसेर काम गरेको छु । उहाँहरूले संस्थाको हित हुने गरि काम गर्नुपर्छ र गर्नु पनि हुन्छ ।’

त्यस्तै नवनिर्वाचित अध्यक्ष नारायण प्रसाद आचार्यले आफू लामो समयदेखि संस्थाको विभिन्न समिति र उपसमितिमा काम गरेर संस्थालाई नजिकबाट बुझेको हुनाले संस्थाको आवश्यकता र शेयर सदस्यको अपेक्षा अनुरूप नै काम गर्ने बताए । उनले चाँडै नै नवनिर्वाचित समितिको बैठक बसेर विगतका कमहरूबाट समेत प्रेरणा लिँदै नयाँ रणनीतिका साथ कम अघि बढाउने जिकिर गरे । उनले भने ‘यो संस्थासँग मेरो स्थापना काल देखिकै सम्बन्ध छ । संस्थाका विभिन्न समिति र उपसमितिहरूमा बसेर लामो समय काम गरेको पनि छु । संस्थाको आवश्यकता र शेयर सदस्यको अपेक्षा के रहन्छ भन्ने पनि बुझेको छु । सोही अनुरूप चाँडै कार्यसमिति बैठक बसेर रणनीति निर्माण गरी सोही अनुरूप अघि बढ्ने छु ।’

गत असोज ३ गते सम्पन्न ३० औँ साधरणसभाले नारायण प्रसाद आचार्यको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको थियो । नवगठित समितिको उपाध्यक्षमा राजेन्द्र थापा, सचिवमा सागर सुवेदी, सह–सचिवमा राजेशजङ्ग कार्की, कोषाध्यक्षमा खगेन्द्र ओझा, सदस्यहरूमा राजु बस्नेत, विकास बुढाथोकी, तुलसा राई, गंगादेवी श्रेष्ठ, शान्ता खतिवडा र रञ्जना चौधरी चयन भएका छन् । साधारणसभाबाट विश्वनाथ निरौलाको संयोजकत्वमा राम बहादुर कार्की र शकुन्तला थापा रहेको सर्वसम्मत तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि गठन भएको छ । पदस्थापन कार्यक्रममा जिल्ला सहकारी सङ्घकी उपाध्यक्ष पार्वती बराल, कोशी प्रदेश बचत तथा ऋण सङ्घका अध्यक्ष हरिप्रसाद सुवेदी, संस्थापक अध्यक्ष कञ्चन बुढाथोकी साथै संस्थाका पूर्व सञ्चालक समिति सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।