क्विज र स्पेलिङ कन्टेस्टमा एभरेष्ट प्रथम

पथरी / मोरङको पथरी शनिश्चरेमा सम्पन्न अन्तर विद्यालय क्विज प्रतियोगितामा एभरेष्ट माविले प्रथम स्थान हासिल गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरी शनिश्चरेले आयोजना गरेको अन्तर विद्यालय क्विज प्रतियोगितामा पथरीको एभरेष्ट स्कुलले प्रथम स्थान हासिल गरेको हो ।

एभरेष्टबाट क्विज प्रतियोगितामा सुलभ तिम्सिना, सुजित केदेम, रिभ्यामा राई र नविन पाण्डले सहभागिता जनाइ प्रथम स्थान हासिल गरेका हुन् । यस्तै केबी मेमोरियल दोस्रो र पूर्व क्षितिज कन्सोलेसन डनवस्कोले तेस्रो स्थान हासिल गरेको छ ।

यसैगरी प्याब्सनले नै आयोजना गरेको अन्तर विद्यालय स्पेलिङ कन्टेस्टमा पनि एभरेष्टले नै बाजी मारी प्रथम स्थान ओगटेको छ । स्पेलिङ कन्टेस्टमा एभरेष्टको तर्फबाट कोमल जंग बोहरा, नुवुहाङ साम्वा, नर्वु लामा र मेरिस थापाको टिमले प्रथम स्थान हासिल गरेको हो । यसैगरी हाइल्याण्ड बोर्डिङ स्कुल दोस्रो र न्यू पेगोडा स्कुल तेस्रो भए । पथरी शनिश्चरे वडा नं। १ मा स्थापित एभरेष्ट बोर्डिङ स्कुलले यसरी नै एकपछि अर्को सफलता हासिल गर्दै आइरहेको छ ।

प्रथम, दोस्रो र तेस्रो हुने ६ वटा विद्यालय जिल्लामा हुने प्रतियोगिताको लागि छनौट भएका छन् । सो प्रतियोगिता जम्मा २१ वटा विद्यालयले भाग लिएको प्याब्सनका नगर सचिव सन्तोष बस्नेतले जानकारी दिए ।