उर्लाबारी / उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचन आउन साता दिन भन्दा कम छ । यतिबेला चार दलीय गठबन्धन, एमाले, स्वतन्त्र उमेद्वारहरू उद्योगी ब्यापारीको दैलो दैलोमा पुगेर मत मागिरहेका छन् । दलका उमेद्वारहरू एजेण्डाको भारी बोकेर घरदैलो गरिरहेका छन् । भने स्वतन्त्र उमेद्वारहरू एक्लै एक्लै मतदाताको पसल पसल पुगिरहेका छन् ।
तीन वर्ष अघि सदस्य पदमा विजयी नुतन राई (पिके)ले यो पटक महासचिवमा उमेद्वारी दर्ता गराएका छन् । शेरबहादुर भण्डारी अध्यक्ष रहेको उर्लाबारी उद्योग बाणिज्य संघमा नुतन एकमात्र त्यस्ता सदस्य थिए । जसले भागवण्डाका आधारमा कहिल्यै अवसर लिएनन् । खानपिन ,बनभोज र घुमघाममा वाणिज्य संघमा जम्मा भएको पैसा खर्च नगरौं । ब्यापारी उद्योगीको हितमा काम गरौं भनेर कराउँदा कराउँदै नुतनका तीन वर्ष बिते । सदस्य पदमा जितेर तालि बजाउने र साक्षी किनार हस्ताक्षर गर्ने बाहेक कुनै काम गर्न नसकेकोका उनी अघिल्लो तीन वर्षको भोगाई प्रति खिन्न छन् । पदाधिकारीहरूले गरेका निर्णय मान्नै पर्ने । फरक मत राख्न खोजे बहुमतले हटाइदिने । पुरस्कार , सम्मान र अवसर प्र्रदान गर्दा आलोपालो र योगदानको आधारमा गरौं भन्दा सुनुवाई नहुने । यि र यस्तै सयौं एजेण्डामा नुतन कहिल्यै नेतृत्वसँग सहमत भएनन ।
उनले उठाएका एजेण्डामा कतिपय साथीहरू बैठकको च्याम्बरमा नपुगिन्जेल सहमत हुन्थे । तर, जब दाजु र बाहरूको फोन आउँथ्यो त्यसपछि तिनै साथीहरू नुतनका एजेण्डाबाट खुट्टा झिक्थे ।
नुतनले नगरपालिकाको साझेदारीमा धेरै कार्यक्रम गर्न सकिने गरि एजेण्डा अघि ल्याए । ब्यापार तहस नहस भएको बेला घुमफिर नगरौं। बनभोज नजाऔं । सानो पैसा पनि कसैका लागि ठूलो हुन्छ भनेर प्रस्ताव राखे ,तर नुतनका प्रस्ताव कहिल्यै टेवल भएनन ।
उद्योग बाणिज्य संघ देशकै सबैभन्दा प्रतिष्ठित ब्यापारिक संस्था हो भन्ने बुझेका नुतनले संघको गरिमा उच्च राख्नु पर्छ भनेर पटक पटक बोले । तर, उनको आवाज बसेर बोल्दा कसैले सुनेनन । उठेर बोल्दा हावाले उठायो ।
त्यसैले यो पटक उनी कार्यकारी पदमा उमेद्वार बनेका छन् । उनले भने –वाणिज्य संघ पनि स्थानीय तह जस्तै हुने हो भने के फरक रह्यो र ?३ दशक भन्दा लामो इतिहास बोकको उर्लाबारी उद्योग बाणिज्य संघमा २२ सय बढी सदस्य रहेको सुनेको थिए । आज १२ सय हाराहारीमा छन् । वाणिज्य संघसँग जोडिनु पर्छ भन्ने आकर्षण किन भएन । मैले बारम्बार सदस्यता शुल्क केही घटाएर भएपनि सबैलाई समेट्नु पर्छ भन्ने कुरा राख्दा हाँसो भयो तर, आज दलीय उमेद्वारहरू मेरो एजेण्डा बोकेर मत मागिरहनु भएको छ ।
सहरको एउटा कुनामा जुत्ता सिलाएर बस्ने हुन वा घडी मर्मत गरेर बस्ने । साग, तरकारी बिक्री गर्ने हुन वा ठेलामा चटपटे बिक्री गर्ने ,सबै ब्यापारी नै हुन् । सानो मसला मिल देखि ठूला उद्योग सबै उद्योग नै भएको बताउँदै नुतनले भने वस्तुगत संघ बनाउँ । सबै ब्यापारीलाई उर्लाबारी उद्योग वाणिज्य संघको छातामा समेटौं , भन्ने एजेण्डा लिएर मत मागिरहेको छु ।
नुतन एउटा भिजन बोकेर वाणिज्य संघको महासचिवमा उमेद्वार बनेको बताउँछन् । उनी भन्छन् – १२ सय सदस्यको नवीकरण गर्दा मात्र १७ लाख ६० हजार रुपियाँ संकलन भएको छ । संघमा स्रोत नभएको होइन । तर, नेतृत्वको काम गर्ने क्षमता पनि हुनुपर्छ । साझेदार संस्था खोजेर धेरै काम गर्न सकिन्छ । हाम्रो नेतृत्व चुनाव जितेपछि जहिल्यै कुहिरोको काग झै बन्छ । एउटा ब्यापारीलाई मास्केवारी रिपोर्ट बुझाउँदा देखि कर चुक्ता लिँदा सम्म कर कार्यलयले दुख दिन्छ । त्यस विषयमा वाणिज्य संघले कहिल्यै सहजीकरण गर्न सकेको छैन । उनी भन्छन् – करदाता सेवा कार्यालय उर्लाबारीमा ल्याउने एजेण्डा दलका उमेद्वारहरूले समेत हटाए ।
तर,विगतका सबै सदस्यहरूले सदस्यता नवीरकण गरेर उर्लाबारीलाई ब्यापार मैत्री सहर बनाउने हो भने उर्लाबारी, मिक्लाजुङ र रतुवामाईका लागि अझै एउटा करदाता सेवा कार्यालय ल्याउन सकिन्छ । पछिल्लो ३ वर्षमा उर्लाबारीका ब्यापारीहरू दमक र पथरीमा गएर ब्यापार गरिरहेका छन् । उर्लाबारीका सटर खाली हुने , दमक र पथरीमा ब्यापारी जाने अवस्था किन आयो भन्ने विषयमा हामीले कहिल्यै छलफल गरेनौं । मैले यो विषयलाई पनि एजेण्डाको रुपमा अघि सारेको छु ।
उनी थप्छन् –बहुदलीय ब्यवस्थामा दलगत बिचार सिद्धान्त हुन्छ । तर, उत्तरमा मधुमल्ला ,पूर्वमा दमक ,पश्चिममा पथरी र दक्षिणमा दाम्राभिट्टाको ब्यापारले खुम्चिएको उर्लाबारीको ब्यापारलाई पुनः उठाउन एकपटक सबै ब्यापारी दलीय झोला कतै राखेर सामूदायिक प्रतिवद्धता सहित जुट्न ढिलो भइसक्यो ।