स्वतन्त्र र दलीय उमेद्वार बिच रोचक भीडन्त, बिनोद र ज्ञानकुमारका अघि अरु उमेद्वार फिका

उर्लाबारी / उर्लाबारी उद्योग वाणिज्य संघको आगामी भदौ ९ गते हुने निर्वाचनले यति बेला उर्लाबारी नगरी तातेको छ । उसै त भदौ महिनाको उखर्माउलो गर्मी, अझ निर्वाचनको सरगर्मीले उर्लाबारीलाई घ्वाप्पै छोपेको छ ।

टोल देखि मुख्य बजारसम्म, चिया पसल देखि घाटसम्म सबैतिर वाणिज्य संघको निर्वाचन कै चर्चा छ । खासगरी वाणिज्य संघ, सामूदायिक वन, विद्यालय,सहकारी, आमा समूह , मन्दिर ,रोटरी, जेसीज जस्ता सामाजिक संस्थामा दलीय चुनाब हुनु राम्रो मानिन्न । सामाजिक संस्थाको नेतृत्व दलीय आधारमा चयन भए ति संस्थाको सामाजिक मर्यादा पनि रहँदैन । तर, ति संस्थाहरूमा राजनीतिक रंग भर्न दलका नेता नै सबैभन्दा अघि मोर्चा खडा गरेर लागिरहेका छन् ।

उर्लाबारीमा नेपाली कांग्रेस, माओवादी केन्द्र ,जसपा र राप्रपाले साझा प्यानल बनाएका छन् । जुन प्यानलको नेतृत्व कांग्रेस निकट तारामान सेरेङले गरेका छन् । सेरेङ प्यानललाई जिताउन चारै दलका नेता कम्मर कसेर लागेका छन् । एमालेले राम थापाको नेतृत्वमा पुरै टिम बनाएर चुनाबी मैदानमा उत्रिएको छ । त्यस्तै स्वतन्त्र रुपमा ६ जना पूर्व अध्यक्षहरूको समर्थनमा संघका पूर्व बरिष्ठ उपाध्यक्ष विनोद न्यौपाने चुनावी मैदानमा छन् । न्यौपाने कै टिमबाट बरिष्ठ उपाध्यक्षमा ज्ञानुकुमार श्रेष्ठ उमेद्वार बनेका छन् । वरिष्ठ उपाध्यक्षमा नै मनोहरि दाहाल स्वतन्त्र उमेद्वार छन् ।

यस्तै महासचिवमा पनि नुतन राई (पिके) र टीकाराम भट्टराई स्वतन्त्र रुपमा उमेद्वार छन् ।  स्वतन्त्र उमेद्वारहरू मध्ये अहिले सबैभन्दा बढी चर्चामा विनोद न्यौपाने र ज्ञानुकुमार श्रेष्ठ छन् । कांग्रेस सहित चार दलको गठबन्धनका बिरुद्ध न्यौपाने र श्रेष्ठको उमेद्वारीले चर्चा पाएको हो । संयोग के छ भने न्यौपाने र श्रेष्ठ दुबै जना कांग्रेस निकट हुन् ।

 

न्यौपाने किन बने उमेद्वार ?

बिनोद न्यौपाने कांग्रेसका शुभेच्छुक मात्र होइनन । क्रियाशील सदस्य र आर्थिक रुपमा उर्लाबारी कांग्रेसलाई भरथेग गर्ने कार्यकर्ता पनि हुन् । २०५९ सालमा उर्लाबारी उद्योग वाणिज्य संघको साधारण सदस्यता लिएर वाणिज्य संघमा आवद्ध भएका न्यौपाने २०६६ सालमा सञ्चालक सदस्यमा निर्वाचित भए । सदस्य पदमा विजयी भएर उर्लाबारी वाणिज्य संघमा ईन्ट्री गरेका न्यौपाने क्रमश ः महासचिव,बरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बन्न चाहन्थे ।

उनी महासचिव र बरिष्ठ उपाध्यक्षमा अत्यधिक मत पाएर बिजयी भए । साना ठूला सबै ब्यापारीलाई समान दृष्टिले सहयोग गर्ने न्यौपाने गणेश प्रवृतिका स्थायी शत्रु हुन् । कामका आधारमा पार्टीले मूल्याङ्कन गर्नुपर्छ भन्ने मान्यतामा उनी अडिग छन् । त्यति हुँदा हुँदै पनि उनले पार्टी संगठनको अनुरोधमा अघिल्ला दुई चुनाबी साधारणसभामा आफ्नो दाबी फिर्ता लिए । जतिबेला प्रीतम खड्गी दोस्रो पटक बाणिज्य संघमा उमेद्वार बने । त्यसैबेला न्यौपानेले आफ्नो दाबी पेश गरेका थिए । तर, पार्टीले प्रीतम खड्गीलाई उमेद्वार बनाउने निर्णय गरेपछि उनी बरिष्ठ उपाध्यक्षको उमेद्वार बनेर पार्टी दिएको जिम्मेवारी अनुसार नै अघि बढे । खड्गीले चुनाव जिते । त्यसबेला नै ‘ब्याक’ भएका न्यौपानेले अरु ३ वर्ष कुरे ।

३ वर्षपछि पार्टीले न्यौपानेलाई अनेकन बहानावाजी गरेर पन्छायो । कांग्रेस समर्थक पूर्व अध्यक्षहरू तेजकुमार रिजाल, प्रेमचन्द्र वाहेती,कल्याणराज भण्डारी,भोलामान श्रेष्ठ,केशवबहादुर बस्नेत र प्रीतम खड्गीले समेत पार्टीको आधिकारिक उमेद्वारलाई जिताउने र ३ वर्षपछि न्यौपानेलाई उमेद्वार बनाउने सर्तमा पूर्व महासचिवको हैषियतले तारामान लिम्बूलाई उमेद्वार बनाएर जिताउने सहमति भयो । तर, कांग्रेसका तर्फबाट उमेद्वार बनेका तारामान एमालेका उमेद्वार शेरबहादुर भण्डारीसँग पराजित भए ।

त्यसपछि न्यौपानेले १०९५ दिनको काउन्टडाउन सुरु गरे । उद्योग बाणिज्य संघले उनलाई कानूनी सल्लाहकारको जिम्मेवारी दियो । त्यो जिम्मेवारी पनि उनले कुशलता पूर्वक पुरा गरे । उनले पर्खेको २०८१ को त्यो दिन आयो । तर, न्यौपानेलाई फेरि पनि पाखा लगाइयो । आफूले समर्थन गरेको दलसँग उनलाई पूरा विश्वास थियो । पर्खाईले साथ पाउँछ भनेर तर, न्यौपानेको पखाई पानीको फोका झैं फुट्यो ।

न्यौपानेले नेपाली कांग्रेस उर्लाबारी नगर समितिलाई एउटा दराज सौजन्य गरेका थिए । ६ वर्ष देखि उमेद्वार बन्न पालो कुरेर बसेका न्यौपानेलाई त्यही दराजको छेउमा बसेर राखिएको बैठकले उमेद्वार नबनाउने निर्णय ग¥यो । एक पूर्व अध्यक्ष भन्छन् – बिनोद धेरै सालिन ब्यक्ति भएकोले ६ वर्षसम्म कुरे । अरुले भए त्यो क्षमता राख्ने थिएनन् । हामीले अभिभावकत्व दिएर न्यौपानेलाई मैदानमा अघि ल्याएका हौं ।

न्यौपाने ५० वर्ष पुग्न लागेका उर्लाबारीका पुराना मेसिनरी सामानका बिक्रेता हुन ।उनको उर्लाबारी ५ मा महालक्ष्मी मिल मेशिनरी सप्लायर्स सञ्चालनमा छ । कांग्रेस पृष्ठभुमिका न्यौपानेले न ब्यक्तिलाई, न पार्टीलाई । अप्ठ्यारो परेको बेला कहिल्यै खालि हात फर्काएनन । ठुलो सहयोग गर्ने क्षमता नभए पनि न्यौपानेले सानातिना समस्याको गाँठो बिगत देखि वर्तमान सम्म फुकाइरहेका छन् । सधैं पार्टीले कांग्रेस निकट पूर्व अध्यक्षहरूलाई राखेर आधिकारिक उमेद्वार चयन गर्दै आएको इतिहासलाई अहिलेको नेतृत्वले मेटिदिएको पूर्व अध्यक्षहरू बताउँछन् । स्रोत भन्छ , यो पटक तारामान सेरेङ उमेद्वार बन्न ईच्छुक थिएनन । तर, पार्टीले बहुमतको निर्णय भन्दै तारामानलाई एकाएक दोस्रो पटक अघि सारेपछि न्यौपानेलाई पूर्व अध्यक्षहरूले उमेद्वार बनाएका हुन् ।