साङ्पाङ र बोयाको दोहोरी लुतो

-तारा पराजुली 
तराई झरेपछि मैझारो मान्ने र लुतो फाल्ने खासै अनुभव गर्न पाइएन।जहाँ साउने सक्रान्तीको दिन सुनसानजस्तै देख्थें अनि पहाडमा बस्ने बुबालाई फोन गरेर सोधें-बुबा!लुतो पहाडमामात्र हुन्छ?मधेसमा लुतो हुँदैन?ठाउँ अनुसार लुतो फाल्ने प्रचलनका बारे बुबाले बताउनुहुन्थ्यो।
पहाड बसुन्जेल हरेक साल हामी तामझामका साथ लुतो फाल्ने गर्थ्यौं। साउन १ गतेका दिन।विशेषगरि रोपाईको मैजारो मान्ने दिन,मकै चढाउने दिन,अनि लुतो फाल्ने दिन यी तीनैओटा रमाइला संयोगहरु एकैदिन पर्नाले मन फुरुङ्ग बनाउँथे।
साँझमा लुतो फाल्न म बिहानदेखि चाहिने सामाग्री जुटाउँन लाग्थें परम्पराअनुसार लुतो फाल्ने कर्म श्रावण १ गते साँझ गरिन्छ । यस दिन भलायोको पात, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनुको लहरो, धसिङ्गरेका बोट, उन्यू जातको नागबेली, कुरिलो, सिउँडी, सिस्नु, जरै सहितको पानीअमला, लुतेझार, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै ,निबुवा, अनार, नसपाती,केरा,उखु आदि फलफूलले कण्डारक नामक राक्षसको पूजा गरिन्थ्यो।बुबा धेरै बेरसम्म जपतप,भजन र आरोग्यको कामना गर्दै पूजा गर्नुहुन्थ्यो।गाउँभरि बास्ना आउँने खाट्टी धुपीको पात घीउमा भिजाएर धुपौरामा मीठो धुप बाल्नुहुन्थ्यो।आमा फलामे ताइमा चामलको पिठोको बाबर पकाउनुहुन्थ्यो।दनदनी बलेको आगोको रापमा कुरिलोको हरियो बोट सेकाएर चटट चटट आवाज निकालेर लुतो डढाइन्थ्यो।अनि घरको चारैतिर झर्झर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्थ्यो।यसरी लुतो फ्याक्दा नाङ्लो र कांसाको थाल खुब आवाज दिएर बजाइन्थ्यो।
लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन थियो।नाङ्लो ठटाउने,थाल,डमरु घण्टा बजाउने सवालमा दाजुभाइसँग खुब विवाद पर्थ्यो तर रमाइलो विवाद।
मेरो स्मरणमा आज पनि ताजै छ।हाम्रो गाउँ(साङ्पाङ्)बाट बोया ठिक वारीपारि पर्छ।बीचको खोँचमा बार्है महिना अविरल सङ्लो पानी बगिरहने दुई ओटा ठूल्ठूला खोलाहरु छन्।नखुवा र हार्पा।बोयाली ठूलो स्वरले बोले साङ्पाङ्ले सुन्छ भने साङ्पाङे ठूलो आवाजले बोले बोयाले सुन्छ।रमाइलो पक्ष के छ् भने,हरेक बर्ष लुतो फाल्ने दिन साङ्पाङबाट हामी झरिलो आगो सहितको अगुल्टो फाल्दै `लैजाउ! बोयाली लुतो लैजाउ´भनेर कराउँथ्यौँ भने बोयालीहरुले पारिबाट त्यसैगरि `लैजाउ!साङ्पाङे लुतो लैजाउ´भन्दै हाम्रो गाउँतिर अगुल्टो फालेर कराएको आवाज सुनिन्थ्यो।साङ्पाङ र बोयाको दोहोरी लुतो हेर्न र सुन्न झन रमाइलो लाग्थ्यो।
  कृषिप्रधान देशमा ‘मानो खाई मुरी उब्जाउने’ प्रचलित कथनअनुसार झरिबादलसँग रुझ्दैभिज्दै असार महिनाभर गरिएको खेतीपातीका कारण शारीरिक र मानसिक रुपमा थाकेका किसानहरु हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन्। सौर्यमानअनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखा माथि जाने भएकाले साउने सङ्क्रान्ति अर्थात् साउन १ गतेका दिनलाई कर्कट सङ्क्रान्ति भन्ने गरिन्छ।
असार महिनाभरि खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने सम्भावित छालाको रोगबाट छुट्करा पाउन साउने सङ्क्रान्तिका दिन साँझ लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउने प्राचीन मान्यता र विश्वास अनुसार लुतो फाल्ने प्रचलन छ।
 (लेखक पराजुली बेलबारी नगरपालिका मोरङकी निवर्तमान उपमेयर हुन्।)