सञ्चारकर्मी र एक सञ्चारमाध्यम पुरस्कृत

पथरी / पथरी शनिश्चरे नगरपालिकामा पत्रकार सम्मान, सञ्चारमाध्यम पुरस्कार, क्रियाशील पत्रकार पुरस्कार तथा लेखनवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।

बिहिवार नगरले एक अग्रज पत्रकार सम्मान, एक क्रियाशील पत्रकार पुरस्कार र एक सञ्चारमाध्यम पुरस्कार वितरण गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को मिडिया प्रवद्र्धन कार्यक्रम अन्तर्गत नगरका दुई सञ्चारकर्र्मी र एक सञ्चारमाध्यमलाई नगरले प्रशंसा पत्र वितरण गरेको हो ।

लेखनवृत्ति, पुरस्कार तथा सम्मान छनौट समितिका संयोजक एवं प्रवक्ता नविन कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा अग्रज पत्रकार नगरको पूर्व सूचना सम्पादक वडा नं. १० निवासी भूपेन्द्र तिम्सिनालाई नगद रु. २५ हजार, मुहारचित्र सहित सम्मान गरिएको हो । यसैगरी वडा नं. ४ का सञ्चारकर्मी भूमिप्रसाद पाठकलाई नगद १५ हजार सहित क्रियाशील पत्रकार पुरस्कार र वडा नं. ४ कै सञ्चारमाध्यम पहिलो अनलाईनलाई नगद रु. २५ हजार सहित प्रशंसा पत्र वितरण गरिएको थियो ।

नगरप्रमुख मोहन तुम्वापोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं. १ का अध्यक्ष भीम राई, आर्थिक प्रशासन प्रमुख पिताम्वर वस्ती, कार्यपालिका सदस्य मिना तामाङ र नगरका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । यस्तै नगरका १२ जना पत्रकारलहरुलाई लेखनवृत्ति वितरण गरिएको थियो ।