बेलबारीको सार्वजनिक सुनुवाई सम्पन्न

बेलबारी । बेलबारी नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । आईतवार नगरपालिकाको सभाहलमा आर्थिक बर्ष ०८०/८१ मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणप्रसाद ढकाल, जनप्रतिनिधी, विभिन्न विषयगत शाखा प्रमुखहरु, राजनैतीक दलहरु, संघसस्थाहरु तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।

सेवाग्राहीहरुका जिज्ञाशाको सम्बोधन गदै बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले नगरपालिका आर्थिक पारदर्शीता, सुशासन सहितको सेवा प्रवाहमा प्रतिबद्ध रहेको बताए । उनले भने जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारले जनमैत्री काम गर्नु स्थानीय सरकारको मुख्य दायित्व भएको उल्लेख गरे ।

बेलबारी नगरपालिकाको आयोजनामा तथा मिडिया समाज मोरङको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी बाबुराम निरौलाले गरेका थिए । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए ।