नगर प्रमुख तुम्वापोको पहलमा क्याम्पसको विषयमा सर्वपक्षीय छलफल

पथरी / पथरी बहुमुखी क्याम्पसको कार्यालयमा ताला लगाइएको र कुर्सी रुखमा बाँधिएको विषयमा पथरीशनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्वापोको पहलमा शनिबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ ।

नगरपालिकाको सभाहलमा भएको सो छलफलको नेतृत्व नगर प्रमुख तुम्बापोले गर्नुभएको थियो । छलफलमा जनप्रतिनिधिहरु, क्याम्पस सञ्चालक समिति पदाधिकारीहरु, स्वतन्त्र विद्यार्थी युनियन, प्राध्यापक संघ, राजनीतिक दलका स्थानीय नेताहरू, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु सहभागिता रहेको थियो ।

नगर प्रमुख तुम्बापोद्वारा संयोजन भएको बैठकमा क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, प्राध्यापक संघका अध्यक्ष उपेन्द्र बस्नेत, स्ववियु सभापति केशर राईले बिषयगत कुराहरु राखेपछि थप सुझाव अन्य प्रतिनिधिले राख्ने कार्य र व्यापक छलफल भएको थियो ।

छलफल पश्चात् रुखमा बाँधिएको क्याम्पस प्रमुखको कुर्सी झार्ने सहमति भयो । यस्तैगरी कार्यालयको ताला खोल्ने बिषयमा स्ववियुमा छलफलपछि मात्र निर्णय दिने सभापति केशर राईले विचार राखेपछि नगर प्रमुख तुम्बापोले सञ्चालक समिति अध्यक्ष रामकुमार बस्नेतलाई बैठक राख्न लगाएर समाधानमा लाग्ने निष्कर्ष दिनुभएको छ ।