सुन्दरहरैंचाको शिशिर एकेडेमी: अनुमती बिना कक्षा सञ्चालन

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपलिका वडा नं ७ मा रहेको शिशिर एकेडेमीले विना अनुमति कक्षा सञ्चालन गर्दै आएको पाइएको छ । उक्त एकेडेमी २०६५ सालमा सुन्दरहरैंचा नगरपालिका वडा नं ३ मा स्थापना भएको हो । हाल उक्त एकेडेमी सोही नगरपालिकाको वडा नं ७ मा रहेको छ ।

उक्त विधालयले सुन्दरहरैंचा नगरपालिकाको शिक्षा शाखाबाट कक्षा ५ सम्म मात्र सञ्चालन गर्न अनुमती लिए पनि हाल शिशिर एकेडेमीले कक्षा ९ सम्म भर्ना अभियान सञ्चालन गरेको पाइएको हो ।

केही महिना अघि नगर शिक्षा शाखाले सार्वजनिक गरेको विधालयको विवरणमा शिशिर एकेडेमीले कक्षा ४ सम्म सञ्चालन गर्न पाउने उल्लेख गरिएको छ । तर पछि उक्त एकेडेमीले नगर शिक्षा समितिले अनुमति दिएको थप म्यादमा पुन: कक्षा ५ सम्मको अनुमती लिएको नगर शिक्षा समिति स्रोतले बताएको छ ।  शिक्षा शाखाले निकालेको उक्त विवरणलाई आधार मान्दा उक्त एकेडेमी सहित नगरमा दर्जनौ विधालयहरु नगर शिक्षा शाखाको अनुमति बिना सञ्चालनमा आएका छन ।

सुन्दरहरैंचा नगर शिक्षा शाखा प्रमुख लिलादेवी ओझाले हाल सम्म गुनासो नआएको तर गुनासो आए कार्वाहीको प्रक्रिया अघि बढ्ने बताइन । उनले शिशिर एकेडेमीले कक्षा ५ सम्मको अनुमती लिएको बताइन । तर कक्षा ९ सम्म सञ्चालन गरेको विषयमा आफुलाई थाहा नभएको बताइन ।

शिशिर एकेडेमीका प्रीन्सिपल सन्तोष घिमिरे हुन । उनी नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटिका सचिव समेत रहेका छन । त्यसो त अन्य पालिकामा दर्ता भएर हाल सुन्दरहरैंचामा सञ्चालन भएका विधालयहरु समेत यस नगरमा रहेका छन ।