अनुदानको रासायनिक मल विक्री वितरण गर्ने डिलरहरुको अनुगमन

पथरी / पथरीशनिश्चरे नगरपालिकामा अनुदानको रासायनिक मल विक्री वितरण गर्ने डिलरहरुको अनुगमन गरिएको छ ।

आज स्थानीय तह मल वितरण व्यवस्थापन समितिद्वारा अनुगमन तथा निरीक्षण गरिएको हो । नगर उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको अगुवाईमा वडा नं. २ को चिनारी कृषि सहकारी संस्था, वडा नं. ३ को विरेन्द्रनगर वचत तथा ऋण सहकारी संस्था लि., हरियाली वचत तथा ऋण सहकारी संस्था लि. र वडा नं. ७ को खनाल कृषि भण्डारको अनुगमन निरीक्षण गरिएको हो ।

यस पटकको अनुगमनका क्रममा डिलरहरुले आफ्नो विक्री कक्षमा प्रष्टसँग आधिकारिक संस्थाको नाम उल्लेख गरेको पाइयो । यस्तै आफ्नै विक्री कक्षबाट अनुदानको मल विक्रीको लागि व्यवस्था गरेको पाइयो, विक्री मूल्य सबैले देख्नेगरी विक्री कक्षमा टाँस गरेको पाइएको छ । अनुगमनमा नगरपालिकाको योजना तथा प्रशासन शाखा प्रमुख शिव राई, कृषि शाखा प्रमुख सविना राईको उपस्थिति रहेको थियो ।