डाँस मोरङ्गीले घर बनाइदिएपछि उपभोक्ता दंग

पथरी / मोरङको पथरीशनिश्चरे १० स्थित जिरिखिम्तीकी धनमाया राईलाई बर्षायाममा रात काट्न समेत पिडा हुन्थ्यो । बाँसको टाटीले बेरेर थोत्रा टिनले छाएको उनको घरमा वर्षायाममा पानी पर्दा टिनबाट त पानी चुहिन्थ्यो नै, वरिपरिवाट बाछिटाले हान्दा रातभर ओछ्यान भिजेर सुत्न समेत नसेका दिनहरु उनि याद गर्छिन । बृद्ध तथा एकल महिला समेत रहेकी उनलाई जिरिखिम्तीमै रहेको डाँस मोरङ्गी सामुदायीक बनले घर निर्माण गरिदिएपछि खुशिले गदगद छिन् ।

छोराछोरी पहाडतिरै बस्नै र यता खासै नआउनेभएपछि बुढेसकालमा एक्लै गुजारा टार्न विवस आफुलाइ घर निर्माण त के विहान के खाने बेलुका के खाने त्यहि चिन्ताले सताउने गरेको उनि बताउँछिन् । यस्तो अवस्थामा बनसमितिले व्यवस्थित घर निर्माण गरिदिएपछि आफ्नो पिडामा केहि मलम लागेको उनि बताउँछिन् ।

सोहि टोलमा बस्ने निर्मला गुरुङ पनि एकल महिला नै हुन् । डाँस मोरङगी सामुदायीक बनकै क्यानटिन सञ्चालन गरेर जिविकोपार्जन गरिरहेकी उनको पिडा पनि धनमायाको जस्तै छ । उनको पनि बाँसको टाटीले बेरेको घर थियो । तर अहिले सोहि बनले उनको घर पुन निर्माण गरिदिरहेको छ । ज्यामी काम गर्दै आएका उनका पतिले केही वर्षअघि दुर्घटनामा ज्यान गुमाए । त्यसपछि सानासाना २ सन्तानको पालनपोषण र शिक्षा दिक्षाको समेत एक्लै जिम्मेवारी लिनुपरेपछि उनलाई तत्काल बस्न योग्य घर पुन निर्माण गर्न सक्ने कल्पना नै थिएन । तर आफ्नो शुन्य लागतमा घर निर्माण हुन थालेपछि उनि ढुक्क छिन् ।

धनमाया र निर्मला जस्तै आर्थिक रुपमा विपन्न उपभोक्ता दिलिप श्रेष्ठ र नगेन्द्र पासवान (बना) को पनि घर निर्माण हुने भएको छ । बनसमितिले अति विपन्न परिवार छनौट गरि ४ परिवारको घर निर्माण तथा विपन्न ३ परिवारलाई घर मर्मतका लागी ८६ किवि काठ सहयोग गरेको छ । समितिले स्थानिय रमेश मगर,भिम मुदेल र मित्रबिकको घर मर्मतका लागि निशुल्क ८६ किवि काठ उपलव्ध गराएको छ। घर निर्माण र मर्मतका लागि समितिले ३४८ किवि काठ छुट्याएको बन समितिका अध्यक्ष मदन पोख्रेलले बताए । हाल केहि घर निर्माण तथा मर्मत भइसकेको र केही घरको भने मर्मत तथा निर्माण कार्य भइरहेकोले उक्त काठले नपुगे केही काठ थपेर पनि उपभोक्ताको घर निर्माण गरिदिने उनले बताए । घर निर्माण र मर्मतका लागि लाग्ने मिस्त्री खर्च तथा अन्य सामग्री समेत बन समुहले नै बेहोरेको बनका कोषाध्यक्ष धनबहादुर श्रेष्ठले जानकारी दिए ।