पथरीशनिश्चरेको किर्तिपुरमा अस्थायी प्रहरी चौकी स्थापना

पथरी / मोरङको पथरीशनिश्चरे—७ र ४ नं वडाको वीचमा पर्ने किर्तिपुर बजारमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । नगरको ७, ४, ५ नम्बर वडा क्षेत्रको सुरक्षालाई ख्याल गरेर प्रहरी चौकी स्थापना गरिएको हो । पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा भएको चौकी स्थापना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्की, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख गणेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

७ नंवर वडा अध्यक्ष उद्धब बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा ५ नं वडा अध्यष चेतेन्द्र खड्का, पूर्ब वडा अध्यक्षहरु गोबिन्द भण्डारी, कपिलमणि ढकाल, सदस्य विरोज मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम ४ नं वडा अध्यक्ष लोककिरण न्यौपानेले सञ्चालन गरेका थिए ।  अस्थायी प्रहरी चौकी किर्तिपुर लेखिएको बोर्ड नगर प्रमुख तुम्बापो, एसपी कार्की र डिएसपि गणेश श्रेष्ठले खोलेर उद्घाटन गरका थिए । उद्घाटनपछि नगर प्रमुख तुम्बापोले सुरक्षा व्यवस्था कडा बनाउन फटाहा गर्नेहरुलाई अभिभावक आफै लागेर जोगाउन नहुने बताए ।

एसपी कार्कीले शान्ति सुरक्षा कायम गर्न पहिला प्रहरी सुरक्षीत हुनुपर्ने भएकोले प्रहरीलाई सहयोग गर्न स्थानीयबासीलाई आग्रह गरेका थिए ।  किर्तिपुरमा प्रहरी सहायक निरीक्षक (असई) रामदेव मेहेताको कमाण्डमा, प्रहरी हवल्दार भुपराज खड्का लगायत पाँच जना प्रहरी रहनेगरी चौकी स्थापना भएको हो । आस्थायी प्रहरी चौकीमा आएका प्रहरी टोलीलाई खादा र टिका लगाएर स्थानीयबासीले स्वागत गरेका थिए । प्रहरीलाई तत्कालको लागि किर्तिपुर बजारमा बनेको दुई तले पक्कि भवनमा स्थापना गरिएको हो ।

पथरीशनिश्चरेको लागि स्वीकृत भएर आएको अस्थायी प्रहरी चौकी वडा नं ८ लगायतको बिभिन्न स्थानमा राख्ने बिषयमा बिवाद हुँदै आएका थिए । पछिल्लो समयमा प्रहरीको माथिल्लो निकायबाटै निर्णय भएर आएपछि किर्तिपुरमा स्थापित गरिएको बुझिएको छ । किर्तिपुरसहित नगरमा एउटा इलाका प्रहरी कार्यालय, एउटा प्रहरी बेस क्याम, भुटानी शरणार्थी शिविरसहित दुई वटा शसस्त्र प्रहरी क्याम र चार वडा प्रहरी चौकी भएको छ ।