सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा पर्यटन विकासको सम्भावना माथि छलफल गर्दै होटल व्यवसायी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुन्दर होटल तथा व्यवसायी संघले सोमबार सुन्दरहरैंचा स्थित नेपालीरिका होटलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले जिल्लामा होटल व्यवसाय र पर्यटनको विकासका लागि कुनै एउटा पालीका मात्रै सक्रिय रहेर नहुने भन्दै सबै पालीकाले जिम्मेवारीपूर्वक अभियान अगाडी बढाउनुपर्ने बताएका छन् ।
त्यस्तै कार्यक्रममा सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालले अनुगमनका क्रममा होटल व्यवसायको समेत कमी कमजोरी देखिएको औँल्याउँदै त्यसलाई सुधार गरेर अघि बढ्नु आजको आवश्यकता भएको जिकिर गरे ।
यता सुन्दर होटल तथा व्यवसायी संघ सुन्दरहरैंचाका अध्यक्ष उत्सव थापाले व्यवसायीको कमी कमजोरी नभएको अवस्थामा समेत व्यवसायीलाई दुख दिने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।
सुन्दरहरैंचा नगरपालिका भित्र करिब २ सय बढी होटल तथा पर्यटन व्यवसायी रहेका छन् । संघको सुरुवाती अवस्थामा भएकाले हाल ७० जना होटल तथा पर्यटन व्यवसायीलाई मात्र प्रमाणपत्र वितरण गरिएको संघका महासचिव आकाश दुलालले बताए । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सञ्चारकर्मी लगायत होटल तथा पर्यटन व्यवसायीहरूको उपस्थिति रहेको थियो ।