मोरङको कानेपोखरीमा पिकअपको ठक्करबाट महिलाको मृत्यु

कानेपोखरी । मोरङको कानेपोखरीमा टाटा पिकअप गाडीको ठक्करबाट शनिबार राति एक जना महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा दुर्घटना हुँदा अन्दाजी ४०/४५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापाबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ७३७७ नम्बरको पिकअपले पैदलयात्रा गरिरहेकी महिलालाई राति ९ः२० बजेतिर ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए।

पिकअप र चालक सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ का ४५ वर्षीय मिलनकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएर घटना अनुसन्धान अघि बढाएको छ ।