बुद्ध मावि नगर स्तरीय ५ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको प्रथम

पथरी / पथरी शनिश्चरे नगर स्तरीय ५ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको प्रथम वडा नं. ८ को सामुदायिक विद्यालय श्री बुद्ध माध्यमिक विद्यालय बन्न सफल भएको छ । तीन दिवसीय सो प्रतियोगिताका विभिन्न विधाहरूमा ९ स्वर्ण र ३ वटा रजत पदक जित्दै सो विद्यालय विजेता बन्न सफल भएको हो ।

बुद्धले छात्रातर्फको सटपुट, छात्र तर्फबाट १ सय, २ सय र लङ जम्प तथा छात्रा तर्फका ४ सय, १५ सय, ४×४सय मिटर रिले दौड र ज्याभलिन थ्रो र कबड्डी स्पर्धामा स्वर्ण पदक जितेको छ भने छात्रको ३ हजार दौड, छात्रा तर्फको ४×१०० मिटर रिले दौड र छात्र– ट्रिपल जम्प सहित ३ रजत पदक जितेको हो । यसैगरी, वडा नं ९ को सिंह वाहिनी मावि सो प्रतियोगिताको उपविजेता बन्न सफल भएको छ । ४ स्वर्ण र ५ रजत पदक जित्दै सिंह वाहिनी उप विजेता बन्न सफल भएको हो । सिंहवाहिनीले छात्र तर्फबाट ३ हजार,८ सय र ४×१०० मिटर रिले सहित दौड र छात्रा तर्फको लङ जम्पमा स्वर्ण पदक जितेको हो भने छात्राको ज्याभलिन, छात्राकै २ सय र ४×४०० मिटर रिले दौड तथा छात्रको लङ जम्पमा रजत पदक जितेको छ ।

यसैगरी आयोजक पञ्चायत माविले सटपुट ( छात्र), ज्याभलिन थ्रो, ट्रिपल जम्प र १५ मिटर दौड (छात्र) सहित ४ स्वर्ण र भलिबल (छात्र), हाई जम्प (छात्र) र ४०० मिटर दौड (छात्रा) सहित ३ रजत पदक जितेको छ । यस्तै जनता माविले १६ सय मिटर दौड र हाई जम्पमा २ स्वर्ण र सटपुट, १०० मिटर दौड,ज्याभलिन थ्रो र ट्रिपल जम्प सहित ४ रजत पदक जितेको छ। संस्थागत विद्यालयहरुको तर्फबाट एभरेष्ट माविले सो प्रतियोगितामा छात्र र छात्रा तर्फका दुवै भलिबल प्रतियोगिताको स्वर्ण पदक जित्दै उपाधि उचाल्न सफल भएको छ ।

वाल्मीकि माविले छात्रा तर्फका २ सय मिटर र ३ सय मिटर दौडमा स्वर्ण पदक जितेको छ भने छात्र र छात्रा तर्फका ४÷४ सय मिटर दौडमा रजत पदक जितेको हो । यस्तै, रेडस्टार माविले ट्रिपल जम्पमा १ स्वर्ण पदक जित्दै छात्रा तर्फको १५ सय मिटर दौड, छात्रको ४×१०० मि. रिले दौड र भलिबल प्रतियोगिताको उपविजेता बन्न सफल भएको हो। प्रतियोगितामा अम्मर सिंह माविले ३ स्वर्ण र १ रजत पदक जितेको छ भने सुनाखरी माविले हाईजम्पमा १ स्वर्ण र लङ जम्पमा १ रजत पदक जित्दै चित्त बुझाउनु परेको छ ।

अन्नपूर्ण माविले भने ८ सय मिटर दौडमा १ वटा रजत पदक जितेको थियो । राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति संयोजक समेत रहेका नगर प्रमुख तुम्वापोले सो प्रतियोगिताका विजेता तथा उपविजेता विद्यालयका सहभागिता खेलाडीहरूलाई सिल्ड, ट्रफी,मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको छ ।