ब्रोकर ८ को बदमासी: शेयर बेचेको ३ हप्तासम्म पैसा पाउँदैनन् सेवाग्राही

मोरङ । ब्रोकर नम्बर ८ अर्थात् आशुतोष ब्रोकरेज एण्ड सेक्युरिटी (प्रा.) लि.ले शेयर बिक्री गर्ने सेवाग्राहीको रकम समयमा भुक्तान नगर्ने गरेको पाइएको छ । ब्रोकर ८ ले शेयर कारोबार गरेको ३ हप्तासम्म रकम भुक्तान नगरेको गुनासो मोरङ पथरीका प्रदीप वान्तता राईले गरेका छन् । राईले गत पुस महिनाको अन्तिम साता ब्रोकर ८ मार्फत २० कित्ता सेयर बिक्री गरेका थिए । तर सो शेयर बापतको भुक्तानी भने हालसम्म पाएका छैनन् ।

त्यस्तै मोरङकै केराबारी घर भएकी छत्रमाया भट्टराईले पनि गत बिहीबार सिकलेस हाइड्रो पावरको १० कित्ता शेयर बिक्री गरेकी थिइन । उनले पनि १ सातसम्म भुक्तानी पाएकी छैनन् । त्यसो त शेयर बिक्री गरेको २ कारोबार दिन भित्र रकम भुक्तानी गर्नुपर्ने प्रावधान छ । तर ‘नाम नै त दलाल’ भने जस्तै यति बेला सामाजिक सञ्जालमा रहेका शेयर बजार सम्बन्धी ग्रुपहरूमा ब्रोकर ८ बाट समयमै भुक्तानी नभएको गुनासो बढ्दो छ ।

आशुतोष सेक्युरिटी (ब्रोकर ८) ले काठमाडौंको बत्तिस पुतलीमा मुख्य ब्राञ्च राखी सुनसरीको इटहरी र सिराहाको मिर्चैयामा शाखा स्थापना गरी काम गर्दै आएको छ । कम्पनीको वेबसाइटमा २ वटा नम्बर उपलब्ध भए पनि उपलब्ध गरिएको नम्बरमा सम्पर्क नै हुँदैन । इटहरी ब्रान्चमा सम्पर्क गर्दा भने प्राविधिक समस्याका कारण २/४ दिन ढिला भएको हुन सक्ने भएकाले कम्पनीको लेखा शाखामा सम्पर्क गर्न भनियो । तर वेबसाइटमा भने लेखाको नम्बर उपलब्ध छैन । यता इटहरी ब्रान्चसँग पनि लेखा शाखाको नम्बर नै छन् ।

यससँगै हामीले सेक्युरिटी कार्यकारी निर्देशक अशोक कुमार झालाई सम्पर्क गर्‍यो । उनले लेखा शाखाका कर्मचारी नभएका कारण भुक्तानी ढिला भएको बताए उनले भने कर्मचारी नभएर समस्या भएको छ । हामी दिनरात एक गरेर भुक्तानी गरिरहेका छौँ, राती घरबाट पनि काम गरिरहेका छौँ ।’ वेबसाइटमा सम्पर्क नम्बर किन नराखेको भन्ने प्रश्नमा उनले भने ‘राखेका थियौँ भर्खरै डिटेल भएछ । म राख्न लगाइहाल्छु ।’

यसै सम्बन्धी गुनासो सुन्ने निकाय धितोपत्र बोर्डमा भने फोन न उड्ने गरेको गुनासो पीडितहरूको छ । अध्यक्ष विहीन रहेको धितोपत्र बोर्डलाई नागरिकको गुनासो सुन्ने फुर्सत नै नभएको उनीहरू बताउँछन् । हामीले पनि बोर्डले वेबसाइटमा उपलब्ध गराएका सबै नम्बरमा कार्यालय समयमै सम्पर्क गर्‍यो तर फोन उठेन ।