कोशी प्रदेशमा कनेक्ट एजुकेशनको गैरकानुनी ठगी

बेलबारी । कनेक्ट एजुकेसन सेन्टरले विना अनुमति मोरङ जिल्लाका विभिन्न निजी तथा सामुदायिक विद्यालयमा रकम उठाएको पाइएको छ । काठमाडौँ स्थित कोटेश्वरमा कार्यालय रहेको उक्त एजुकेसन सेन्टरले जिल्लाका सुन्दरहरैंचा, बेलबारी लगायतका पालिकामा रहेका विद्यालयबाट विभिन्न प्रतियोगिताको नाममा गैर कानुनी रूपमा रकम उठाएको पाइएको हो ।

कोसी प्रदेश स्तरीय हस्तलेखन प्रतियोगिता गराउने भन्दै उक्त एजुकेसनका कार्यकारी निर्देशक विक्रम धामीको हस्ताक्षर सहितको निवेदन लिएर बेलबारी नगरपालिकाका विभिन्न विद्यालयमै पुगेर विद्यार्थी सहभागी शुल्कका लागि निवेदन दिने र प्रतिविद्यार्थी ३ सय रुपैयाँको दरले रकम लिने गरेको पाइएको हो ।

यस किसिमका शैक्षिक प्रतियोगिता गराउँदा स्थानीय तहबाट अनुमति लिनुपर्ने प्रावधान भए पनि उक्त संस्थाले कुनै अनुमति नलिएको बेलबारी नगरपालिकाले पुष्टि गरेको छ । पालिकाकी शिक्षा शाखा प्रमुख एलिना बस्नेतले भनिन ‘अनुमति लिनुपर्ने त हो, तर हामीसँग सो कार्यक्रमका लागि अनुमति त परको कुरा जानकारीसम्म गराइएको छैन ।’

कनेक्ट एजुकेसन बेलबारी ११ स्थित एक विद्यालयमा पेस गरेको निवेदनमा १५ वर्ष देखि शैक्षिक क्षेत्रमा सेवा दिँदै आएको दाबी गरिएको छ । तर कानुनी रूपमा हेर्ने हो भने उक्त संस्था सन् २०२२ अर्थात् करिब २ वर्ष अघि मात्रै दर्ता भएको पाइएको छ ।

यता कनेक्ट एजुकेसनका प्रतिनिधि देवेन्द्र आचार्यले भने संस्था २ वर्ष अघि दर्ता भए पनि व्यक्तिगत रूपमा १५ वर्ष देखि शैक्षिक क्षेत्रमा जोडिएकाले १५ वर्ष नै उल्लेख गरेको दाबी गरे । उनले भने ‘व्यक्तिगत रूपमा १५ वर्ष भएकाले त्यही लेखौं भनेर हो । संस्था दर्ता गरेको त २ वर्ष नै भएको हो ।’

साथै सम्बन्धित निकायबाट किन अनुमति नलिएको भन्ने प्रश्नमा आचार्यले भने ‘हामीले कोसी प्रदेश स्तरीय भनेर प्रतियोगिता गर्न लागिएको हो । हामीले प्रतियोगितामा भाग लिनै पर्छ पनि भनेका छैनौँ । इच्छुकले लिनुहुने हो । फेरी सबै स्थानीय तहबाट अनुमति लिन सम्भव नभएकाले प्रदेशको शिक्षा मन्त्रालयबाट अनुमति लिएका छौँ ।’

आचार्यको दाबीसँगै हामीले कोसी प्रदेश शिक्षा मन्त्रालयले अनुमति दिएको पत्र उपलब्ध गराउन अनुरोध गर्‍यौ । उनले केही समयमा उपलब्ध गराउने बताए । तर चाखलाग्दो कुरा के छ भने कोशी प्रदेशमा शिक्षा मन्त्रालय नै छैन । उक्त काम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको शिक्षा महाशाखाले हेर्ने गर्दछ ।

यता केही बेरमा मन्त्रालयको पत्र उपलब्ध गराउने बताएका देवेन्द्र आचार्यलाई पुन सम्पर्क गर्दा संस्थाका कार्यकारी निर्देशक विक्रम धामीसँग पत्र भएको बताए । त्यस लगत्तै हामीले निर्देशक धामीलाई सम्पर्क गर्‍यौ। उनले सुरुमा आफू बाहिर रहेकाले केही समय लाग्ने जिकिर गरे । हामीले बुधवार बिहान १० बजेसम्म पत्र उपलब्ध गराउन भनेपछि उनले पुनः आफू काठमाडौंं भएकाले बरु आगामी आइतबार पत्र लिएर मोरङमै भेट्नै आउने बाचा गरे, तर पत्र उपलब्ध गराउन तर्फ चासो नै देखाएनन् ।

यसरी कनेक्ट एजुकेसनले हस्तलेखन प्रतियोगिताको नाममा गलत सूचना र दाबीसहित विद्यालयबाट गैर कानुनी रूपमा पैसा उठाउने, त्यसको पारदर्शिता नराख्ने र सम्बन्धित निकायबाट अनुमतिसमेत नलिएको पाइएको हो । संस्थाले झापा मोरङसहित कोसी प्रदेशका अन्य जिल्लाबाट समेत रकम उठाउने गरेको खुलेको छ ।




Leave a Reply

Your email address will not be published.