वेतना सिमसारमा ताला लाग्दा कर्मचारीको बिचल्ली, न्याय माग्न पालिका धाउँदै

बेलबारी । मोरङको बेलबारी नगरपालिका ४ मा रहेको वेतना सिमसारमा ताला लाग्दा कर्मचारी मारमा पारेका छन् । ८ वर्षदेखि साधारण सभा नगरेको भन्दै स्थानीय संर्घष समितिले विगत दुई महिनादेखि सिमसारको काउन्टरमा ताला लगाएका छन् । ताला लागेको दुई महिनासम्म समस्या समाधान गर्न तालुकदारले चासा नदेखाउँदा सेवा सुविधाबाट वञ्चित हुन परेको सिमसारका कर्मचारीको गुनासो छ ।

सिमसारमा कार्यरत कर्मचारीका अनुसार पछिल्लो ४ महिनाको सेवा सुविधा रोकिएको छ भने पर्यटकको आगमन बाक्लो हुने समयमा काउन्टर नखुल्दा सिमसारको आम्दानी शून्य छ । जसबाट सिमसारले दैनिक २० हजार रुपैयाँ बढीको नोक्सान बेहोर्दै आएको छ । यसअघि सिमसारको गत पुस १८ गते तोकिएको निर्वाचन समेत अन्तिम समयमा स्थगित भएको थियो। स्थगित भएको निर्वाचन पुनः कहिले हुन्छ भन्नेमा नै अहिले प्रश्न उठेको छ । लामो समय देखी सिमसारमा कार्यरत कर्मचारीहरू तलब सुविधा नपाएपछि गुहार माग्दै नगरपालिका धाउन बाध्य छन् ।

मंगलबार बेलबारी नगरपालिकामा भेटिएका एक सिमसारका कर्मचारीले तलब कहिले आउँछ भन्ने नै अन्यौलता रहेको बताए । ताला लाग्दा आफूहरूको तलब मात्र हैन त्यहाँ रहेका वन्यजन्तुको संरक्षण गर्न समेत समस्या भएको उनको भनाई छ । यता सिमसारका अध्यक्ष डम्बर बस्नेतले भने काउन्टर नखुल्दासम्म समस्या समाधान गर्न सक्ने अवस्था नरहेको बताए । उनले टेलिफोन सम्पर्कमा भने ‘भोलि बुधवार सिमसारको बैठक छ, त्यसपछि मात्र केही गर्न सकिएला ।’