कराँते स्पर्धामा पथरीको एभरेष्ट बोर्डिङ स्कुल प्रथम

मन कराँते सेन्टर उर्लाबारीद्वारा आयोजित अन्तर विद्यालय कराँते प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । शनिबार उर्लाबारी–८ स्थित न्यु भिजन एकाडेमी विद्यालय परिसरमा आयोजना भएको प्रतियोगितामा निजी तथा सामुदायिक विद्यालयका ४० जना विद्यार्थीबीच स्पर्धा गराइएको थियो ।

२० देखि ४० केजी तौल समूहको कराँते प्रतियोगितामा छात्रछात्रा गरी दुईवटा विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा कात र कुमुते प्रदर्शन गरिएको थियो ।खेलमा पथरीस्थित एभरेष्ट बोर्डिङ पहिलो, उर्लाबारी ७ को वेथेल एकाडेमी दोस्रो र न्यु भिजन एकाडेमीले तेस्रो स्थान प्राप्त गरेका छन् । विद्यालयमा पठनपाठनसंगै कराँते प्रशिक्षण लिएका विद्यार्थी सहभागी गराएर प्रतियोगिता आयोजना गरिएको कराँतेका थर्ड डनसमेत रहेका मन कराँते सेन्टर उर्लाबारीका अध्यक्ष मानबहादुर थोप्रा लिम्बूले बताउनुभयो । खेलाडी विद्यार्थीको कलाकौशल र क्षमता मापन गरी जुनियर सहभागीबीच स्पर्धा गराइएको अध्यक्ष थोप्राको भनाई छ । विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी ८ का वडाध्यक्ष कुलबहादुर कार्कीले मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै वडाध्यक्ष कार्कीले नयाँ पुस्तालाई देश र समाजप्रति उत्तरदायी बनाउन खेलकुदका कार्यक्रमहरु आवश्यक रहेको बताउनु भयो ।

विद्यार्थीहरुमा रहेको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्न यस कराँते प्रतियोगिताले हौसला प्रदान गरेको उहाँको धारणा थियो । उहाँले कराँते खेलका लागि आफ्नो तर्फबाट गर्न सक्ने सहयोगका लागि सधै तत्पर रहने प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रममा राष्ट्रिय खेदकुद परिषदका प्रशिक्षक दुर्गाराज निरौला निर्णायक भुमिकामा रहनुभएको थियो । कार्यक्रमको सभापतित्व थर्ड डन थोप्राले गर्नु भएको थियो ।