सुन्दरहरैचाको शिक्षा निती: निजी विधालयलाई प्रोत्साहन

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाले एक निजी विधालयलाई सम्मान गरेको छ । नगरको बाह्रौ नगरसभाले सुन्दरहरैचा नगरपालिका वडा नं १० मा रहेको सिद्धार्थ माध्यमिक बिधालयलाई प्रोत्साहन स्वोरुप सम्मान गरेको हो ।

निजी तथा आवासीय विद्यालय अगनाइजेशन नेपाल (प्याब्सन) द्वारा आयोजित राष्ट्रिय लोक नृत्य प्रतियोगितामा प्रथम भएको भन्दै नगरपालिकाले उक्त निजी विधालयलाई नगद दुई लाख दिएर सम्मान गरेको हो । नगरले निजी विधालयलाई प्रोत्साहन गरेको भन्दै अहिले सामाजिक सञ्जालमा विरोध भईरहेको छ ।

सामुदायिक विधालको शिक्षाको गुणस्तर बढाउन विभिन्न कार्यक्रम गर्नुपर्नेमा निजी विधालयलाई झन प्रोत्साहन गरेको भन्दै अहिले नगरवासीहरुले विरोध गर्दै आएका छन । नगरपालिकाले बाह्रौ नगरसभाबाट आगामी शैक्षिक सत्र २०८१ देखि यस नगरपालिका भित्रका सम्पूर्ण शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, सरकारी कर्मचारी जनप्रतिनिधी, नगर शिक्षा समितिका पदाधिकारी साथै सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनु पर्ने नीति अबलम्बन गरिने भएको छ ।

यस्तै नगरपालिका तथा सम्पूर्ण वडाहरूमा सामाजिक विकासतर्फ विनियोजित बजेटको कम्तिमा ३० प्रतिशत बजेट शिक्षा क्षेत्रमा अनिवार्य लगानी गर्ने नीति अबलम्बन गरिने जनाइएको छ । नगरले शिक्षा क्षेत्रमा यस्तो निती लिए पनि निजी विधालयलाई नगद सहित प्रोत्साहन गर्नुले सामुदायिक विधालयलाई भने नोक्सान हुने देखिन्छ । नगरले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनु पर्ने नीति अबलम्बन गर्नु सस्तो लोकप्रियताको लागि मात्र भएको भन्दै अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भईरहेको छ ।