चलचित्र पत्रकारितासम्बन्धी कार्यशाला हुँदै

काठमाडौं / चलचित्र पत्रकार संघ नेपालले दुईदिने कार्यशालाको आयोजना गर्ने भएको छ । काठमाडौंस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजना हुने दुईदिने ‘कार्यशाला तथा गोष्ठी’ माघ १३ र १४ गते चल्नेछ ।

महोत्सवमा झविन्द्र भुसालले आचारसहिंता, रंग पत्रकार कृष्ण भट्टराईले पत्रकारिता हिजो र आज, फोटो पत्रकार विकास रौनियारले फिल्म फोटो पत्रकारिता, निर्देशक प्रकाश सायमीले फिल्मको इतिहास र समीक्षा, छायांकार विष्णु कल्पितले दृश्य भाषा र लेखन, प्रस्तोता नरेश भट्टराईले प्रस्तोता प्रस्तुतीसम्बन्धी क्लास दिनेछन् ।

दुईदिने कार्यशालाले पत्रकारिता गरिरहेका र सुरू गरेका दुवैलाई लाभ दिने संघका अध्यक्ष दिनेश सिटौलाले बताए । ‘हाम्रो उद्देश्य नै विभिन्न माध्यममा रहेर पत्रकारिता गरिरहेकालाई अझै दक्ष बनाउनु हो । हामी आफ्नो सदस्यको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गरिरहेका हुन्छौँ,’ अध्यक्ष सिटौलाले भने ।

कार्यशालामा शाखाबाट समेत सहभागिता रहने संगठन उपाध्यक्ष कुवेर डंगोलले जानकारी दिए । उनले मोफसलमा रहेर रंग पत्रकारिता गरिरहेकालाई यस किसिमको कार्यशालाले क्षमता बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

संघकै कार्यक्रम उपाध्यक्ष जीवन पराजुलीले कार्यशालाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । ‘हामीले सम्पूर्ण तयारी पूरा गरिसकेका छौं । यसपटक काठमाडौंमै आयोजना गरिएको कार्यशालामा भिन्नभिन्न माध्यममा रहेर पत्रकारिता गरिरहेकालाई उपयोगी हुने कक्षा तथा गोष्ठीको आयोजना गरेका छौं,’ उपाध्यक्ष पराजुलीले भने ।

कार्यक्रममा संघका पूर्व अध्यक्षहरू विदुर गिरी, शान्तिप्रियले संघको महत्व र आवश्यकताको विषयमा छलफल गर्नेछन् । यसको सहजकर्ताको रुपमा पत्रकार डब्बु क्षेत्री रहेकाछन् ।