आगलागीबाट १० लाखको क्षति

सप्तरी / सप्तरीको तिरुहुत गाउँपालिका ४ स्थित डिमन टोलमा शुक्रबार आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएपछि १० लाख बराबरको क्षति भएको छ । स्थानीय नारायण यादव, ओम नारायण यादव र गुगली भन्ने हरेराम यादवको घरमा आगलागी हुँदा १० लाख बराबरको धनमाल जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

गुगली भने हरेराम यादवको गोठघर छेउमा राखेको खरानीको ढिस्कोबाट आगो सल्किदा उनको गोठघरमा आगलागी भएपछि टाँसिएको छिमेकी तेज नारायण र ओम नारायणको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रबक्ता सिंहले जानकारी दिएका छन्। आगलागीमा कंचनरुप नगरपालिका,राजविराज नगरपालिका हनुमाननगर कंकालिनी नगरपालिकाबाट गएको बारुण यन्त्रको सहयोगमा नेपाल प्रहरी र स्थानीयबासीहरुले झण्डै दुई घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको प्रवक्ता सिंहले  जानकारी दिएको छ । आगलागीमा मानवीय क्षति नभएपनि चौपाया, अन्नपात, लत्ता कपडा, भाँडाकुडा र फर्निचरका सामानहरु पूर्ण रुपले जलेर  नष्ट भएको प्रहरी प्रबक्ता सिंहको भनाइ रहेको  छ ।

आगलागीमा गुगली भने हरेराम यादवको गोठ घरभित्र बाँधि राखेको बाख्रा–१, खसी–२, भैंसीको पाडी–२ जलि मरेको र भैंसी–१ घाइते भएको हुँदा अन्दाजी १ लाख ५० हजार बराबरको चौपायाक‍ो ज्यान गएको हो । यसैगरी तेज नारायण यादवको वाल र जस्ताको छानो भएको बस्ने घरमा आगो लागी काठको बकस थान–२, चामल १० मन, पंखा ५ थान, एलसिडी टिभी ३२ ईन्चको १ थान, रेडमी मोबाईल–१ थान, सुन चाँदीको गहना र फर्निचरको सामान गरी अन्दाजी ४ लाख बराबरको क्षति भएको छ ।

यस्तै ओम नारायण यादवको बाँसको टाटी बेरा जस्ता पत्ताको छानो भएको घरमा आगो लागी नगद ५४ हजार, चामल १० मन, धान १० मन, भाँडाकुडा लत्ताकपडा र फर्निचरको सामान गरी अन्दाजी ४ लाख बराबरको क्षति गरि ९ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ